
मधेस प्रदेश सभाको बैठक आन्दोलन पछि मर्मत गरिएको हलमा आज दिउँसो १ बजे बस्न लागेको छ।
प्रदेश सभा सचिवालयले हल मर्मत र कुर्सी व्यवस्थापन विहानसम्म पूरा गर्ने तयारी गरेको जानकारी दिएको छ।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि विपक्षमा बस्न लगेको स्थान व्यवस्था गरिएको सभामुखले जनाएका छन्।
जनकपुरधाम- जेनजी आन्दोलनपछि क्षतिग्रस्त बनेको बैठक कक्षमा मधेस प्रदेश सभाको बैठक बस्न लागेको छ । आज बस्ने बैठकको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिवालयले जनाएको हो ।
आन्दोलनको क्रममा प्रदेशसभामा समेत आन्दोलनकारीको एक समूहले आगजनी र तोडफोड गरेपछि त्यसलाई मर्मत समभार गरेर बैठक बस्न लागेको हो ।
आगजनीपछि धवस्त बनेको हललाई मर्मत सम्भार गरिएको छ भने कुर्सीको समेत व्यवस्था गरिएको छ ।
आज दिउँसो १ बजेका लागि मधेस प्रदेशसभाको बैठक बोलाइएको छ । प्रतिपक्षी दलको कारण अनिश्चितकालका लागि प्रदेशसभा बैठक सञ्चालन सम्बन्धमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि बैठक बस्न लागेको हो ।
प्रदेश सभामा बैठक सञ्चालनको लागि हल मर्मत र कुर्सी व्यवस्थाको कार्य भइरहेको विहान सम्म सबै व्यवस्था गरिने प्रदेश सभा सचिव वाशुप्रसाद कोइरालाले जानकारी दिए ।
उनले केही कामहरू बाँकी रहेको त्यो कामहरुलाई मिलाएर विहानसम्म हलको व्यवस्थापन गरिने जानकारी दिए ।
मधेसमा प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र विपक्षमा बस्ने निर्णय भएपछि सोही अनुसारको सिटको व्यवस्थापन गरिने सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
उनले पार्टीले लिखित रुपमा पत्र नै पठाएपछि सोही अनुसारले सिटको व्यवस्था गर्न लागिको जानकारी दिए । मुख्यमन्त्री सतिश सिंहले पार्टीले फिर्ता बोलाएपछि राजिनामा नदिने बरु प्रदेश सभामा विश्वासको मत लिने अडान लिएपछि पार्टीले कारवाहीको लागि स्ष्टीकरणसमेत सोधेका छन् ।