
- जुम्ला र रुकुम पश्चिमका १२९ कैदीबन्दी फरार भएसँगै, ९० कैदी र थुनुवा पुनः पक्राउ परेका छन् ।
- प्रहरीको खोजी जारी रहँदा अझै ३९ जना कैदीबन्दी फरार रहेका छन्, जसलाई तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ ।
- फरार कैदीबन्दीहरू सम्पर्कमा नआएमा कानुनी कारबाही हुने चेतावनी प्रशासनले दिइरहेको छ, तर उनीहरू सम्पर्कमा आएका छैनन् ।
हुम्ला- जेन–जी आन्दोलनको क्रममा जेल तोडेर भागेका कर्णाली प्रदेशका कैदीबन्दी अझै फरार अवस्थामा रहेका छन् । कारागार कार्यालय जुम्ला र रुकुम पश्चिमबाट ८४ कैदी र ४५ थुनुवा गरी १ सय २९ जना फरार भएका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५६ कैदी र ३४ थुनुवा गरी ९० पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार अझै पनि २८ कैदी र ११ थुनवा गरी कुल ३९ कैदीबन्दी फरार छन् ।
कारागार कार्यालय जुम्लाबाट २४ भदौको राति २९ कैदी र १२ थुनुवा गरी ४१ जना बाहिर निस्किएका थिए । यद्यपि, सोही दिन नेपाली सेनाले ६ जनालाई पक्राउ गरी पुनः कारागार पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार फरार रहेका ३६ मध्ये २४ जना पक्राउ परिसकेको बताए । फरार रहेका १२ जनाको खोजी कार्य जारी छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरे पनि उनीहरू सम्पर्कमा आएका छैनन् । जुम्ला कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल सम्पर्कमा आउन अनुरोधसमेत गरेको थियो ।
कारागार कार्यालय जुम्लबाट फरार भएका कैदी बन्दीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन प्रशासनले अनुरोध गरेको थियो । सम्पर्कमा नआउने कैदीबन्दीहरूको हकमा कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनको चेतावनीका बीच पनि उनीहरू सम्पर्कमा आउन चाहेका छैनन् ।
यस्तै, कारागार कार्यालय रुकुमपश्चिमबाट ५५ कैदी र ३३ थुनुवा गरी ८८ कैदीबन्दी फरार भएका थिए । जसमध्ये ३९ कैदी र २३ थुनुवा गरी ६२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
रुकुम पश्चिम कारागारबाट फरार भएका १६ कैदी र १० थुनुवा अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक प्रवेश विष्टले बताए ।
उनका अनुसार रुकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भई कैद सजाय भोगिरहेका अधिकांशलाई पनि पक्राउ गरिएको छ । उनीहरू पनि जेन–जी आन्दोलनकै क्रममा भागेका थिए ।