
काठमाडौँ – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए।
उनका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ। सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ।
डा. दाहालले पानी पनि पर्न रोकिएमा बिस्तारै जाडो सुरु हुन थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम कम हुने बताए।
तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ।