नवरात्रिमा नौ स्वरूपको आराधना

नवरात्रिमा नौ स्वरूपको आराधना
+
-
देशसञ्चार AI सारांश
  • नेपाली समाजको विविधता र एकतालाई झल्काउने महान् बडादशैंले सत्य र धर्मको विजयलाई स्मरण गराउने शाश्वत सन्देश दिन्छ।

  • नवरात्रिका समयमा देवी दुर्गाका नौ स्वरूपहरूको पूजा गरी सत्य, साहस र आध्यात्मिक मार्गदर्शनलाई प्रोत्साहित गरिन्छ।

  • नवदुर्गाका प्रत्येक स्वरूपले जीवनका विभिन्न पक्षहरूमा मार्गदर्शन र धर्मरक्षाका लागि आवश्यक शक्तिको प्रतीकत्व प्रस्तुत गर्छन्।

नेपाली समाज विविध जाति, भाषा, धर्म र संस्कृतिको संगम स्थल हो । यही संगममा जीवनका मूल्य र मान्यताहरूलाई बाँध्ने सामूहिक एकताको प्रतीकका रूपमा महान् बडादशैं झल्किदैं आएको छ । यो चाड केवल एक विशुद्ध परम्परा मात्र नभई, सत्यको ज्योति र धर्मको विजयलाई स्मरण गराउने शाश्वत सन्देश पनि हो। दशैंलाई मायाको बन्धन, करुणाको प्रवाह र सद्भावनाको सोपानको रूपमा हेरिन्छ । मान्यजनबाट आशीर्वाद  ग्रहण गर्ने   सानालाई स्नेहगर्ने  यो परम्परा वास्तवमा पीढीगत सम्बन्धलाई दृढ बनाउने आध्यात्मिक संस्कार र साधनापनि  हो। पौराणिक कथाहरूले स्पष्ट पारे झैँ , अधर्म, अहंकार र असत्यलाई पराजित गरेर धर्म, न्याय र सत्यको प्रतिष्ठा स्थापित गर्ने चेतना नै दशैंको मूल स्वरूप हो । त्यसैले यो पर्व केवल रमझमको अवसर मात्र नभएर ,अमूल्य मानव जीवनलाई सत्य, धर्म र सद्गुणतर्फ उन्मुख गराउने शाश्वत मार्गदर्शक हो। महान् बडादशैंको आरम्भ आश्विन शुक्लपक्ष प्रतिपदाका दिन घटस्थापनासँगै हुन्छ र दशमीका दिन सम्पन्न हुन्छ । घटस्थापनादेखि नवमीसम्मको अवधिलाई नवरात्र वा नौरथा भनी विशेष श्रद्धा र भक्तिसाथ मनाइन्छ । यस नवरात्रलाई बडादशैंको अविभाज्य अंगका रूपमा लिइन्छ ।

पौराणिक कथानुसार नवरात्रीमा देवी दुर्गाले महिषासुरसहित अनेक दानवहरूको विनाश गरेकी थिइन्। [ नवरात्री हिन्दुहरुको प्रसिद्ध चाडपर्वहरुमा मुख्य पर्व हो । नवरात्रि शब्द नव र रात्रि यी दुई  मिलेर बनेको एक संस्कृत शब्द हो । जसको अर्थ हुन्छ ‘नौ रात’ । यस नौ रात र दस दिनको क्रममा शक्ति स्वरुपा जगज्जननी  जगदम्बा भगवती देवीको नौ मुख्य स्वरूपहरूको विशेष पूजा र साधना नवरात्रिका समयमा गरिन्छ, साथै अन्य समयमा पनि विशेष श्रद्धासाथ गरिन्छ। दशौ दिन बडादशैं नामले सुप्रसिद्ध छ जसलाई भारत तिर र नेपालका केहि भागहरूमा दशहरा शब्दले पनि व्यवहार गरिन्छ । नवरात्रि विशेषरूपले आश्विन शुक्लपक्षमा  र चैत्रशुक्लपक्षमा  मनाएता पनि  वर्षमा चार पटक आउछ । चैत्र, असार, असोज र पुस । चैत महिनामा चैत्र नवरात्रि हुन्छ जसलाई चैत्रनवरात्रि भनिन्छ । त्यस्तै असार र पुस महिनाको नवरात्रिलाई गुप्त नवरात्रि भनिन्छ। यी चारप्रकारका नवरात्री मध्ये शारदीय नवरात्रिलाई नेपालीहरूले भव्योत्सवका साथ मनाउने गर्दछन्। यस नवरात्रीमा प्रत्येक देवीको अलग–अलग स्वरूप वाहन र अस्त्र–शस्त्रहरू छन् , तर ति सबै भगवती देवीकै अनेक प्रकारका स्वरूप हुन् । ती नव स्वरूपा देवीहरुको पुराणहरुमा यस प्रकार चित्रण गरिएको छ।

                        प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

                        तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्॥

                        पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

                        सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्॥

                      नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:

                      उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना॥

 

प्रथम दिन शैलपुत्रीको आराधना गरिन्छ ।

नवदुर्गाको प्रारम्भिक स्वरूप ‘शैलपुत्री’ हो । पर्वतराज हिमालयकी कन्या भएर प्रकट भएकी हुनाले देवीलाई शैलपुत्री उपाधिले अभिषिक्त गरिएको छ । शक्ति, साहस र धैर्यको मूर्त स्वरूप भएकी शैलपुत्री छ हातसहित प्रकट भई शङ्ख, चक्र, गदा, कमल, त्रिशूल र डमरू धारण गरी दिव्य तेज प्रकट गर्छिन् ।

पौराणिक आख्यान अनुसार दानवहरूको अहंकारले देवतामाथि अतिक्रमण गरेपछि सत्य असत्यको युद्धभूमि परिणत हुन लाग्यो । त्यही बेला शैलपुत्री प्रकट भई महिषासुर नामक दानवविरुद्ध निर्णायक संघर्षको आरम्भ गर्नुभयो । यही दिनलाई सत्यका लागि संघर्ष प्रारम्भ भएको दिनका  रूपमा स्मरण गरिन्छ । यसैले शैलपुत्रीको उपासना केवल देवीपूजा मात्र नभई मानव जीवनमा कठिनाइका बीच सही निर्णय लिने क्षमता, असत्यको सामना गर्ने साहस र सत्यतर्फ अग्रसर हुने चेतनाको प्रतीक हो ।

 द्वितीय दिन व्रह्मचारिणी स्वरुपा देवीको पूजा आराधना गरिन्छ

नवरात्र पर्वको दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा अर्चना गरिन्छ । साधकहरूले यस दिन आफ्नो मनलाई माताको चरणमा अर्पण गर्छन् । ‘ब्रह्म’ भन्नाले तपस्या भन्ने बुझिन्छ र ‘चारिणी’ भन्नाले आचरण गर्ने भन्ने बुझिन्छ । यसरी ‘ब्रह्मचारिणी’ भन्नुको अर्थ भयो तपको आचरण गर्ने देवी ।

भगवान् शंकरलाई पति रूपमा प्राप्त गर्न उहाँले कठोर तपस्या गर्नुभएको थियो । यही कठिन तपस्याका कारण यस देवीलाई तपश्चारिणी अर्थात् ब्रह्मचारिणी भनेर अभिहित गरिएको हो ।

कहिन्छ माता ब्रह्मचारिणीको कृपाले सम्पूर्ण सिद्धि प्राप्त हुन्छ । दुर्गा पूजाको दोस्रो दिन देवीको यही स्वरूपको आराधना गरिन्छ ।   

 तृतीय दिन चन्द्रघण्टा स्वरुपा देवीको पूजा आराधना गरिन्छ

घण्टा’ को अर्थ सूचना वा उद्घोष गर्नु हो भने ‘चन्द्र’ को अर्थ प्रकाश फैलाउनु हो । यसरी ‘चन्द्रघण्टा’ भन्नाले सत्य र सन्देशलाई व्यापक बनाउने दिव्य शक्ति भन्ने  बुझिन्छ ।  त्यसैले वहाँलाई कुनै पनि महत्वपूर्ण समाचार वा सन्देश सम्प्रेषण गर्ने देवीको रूपका रूपमा उहाँलाई चिनिन्छ ।

यस स्वरूपमा देवीले मानिसलाई सन्देश दिन्छिन्। जीवनमा सकारात्मक वा नकारात्मक दुवै पक्षको गहिरो विवेचना गरेर मात्र सही निर्णय लिनुपर्छ । देवताहरूबीच छलफल, एकता र समन्वय कायम गर्ने कार्यमा उहाँलाई स्मरण गरिन्छ।

 चतुर्थ दिन कुष्माण्डा  स्वरुपा देवीको पूजा आराधना गरिन्छ ।

नवदुर्गाको चतुर्थ स्वरूपलाई ‘कुष्माण्डा’ भनिन्छ । पौराणिक मान्यता अनुसार जब सम्पूर्ण सृष्टि शून्य र अन्धकारमय अवस्थामा थियो, त्यही क्षणमा देवीले आफ्नो कोमल मुस्कानको ज्योति प्रकट गरी ब्रह्माण्डको उत्पत्ति गरिन् । ‘अण्ड’ अर्थात् ब्रह्माण्ड र ‘कुष्मा’ अर्थात् सृष्टि गर्ने शक्ति भएकी कारण उहाँलाई कुष्माण्डा नामले पुकारिन्छ । 

 पञ्चम दिन स्कन्दमाता स्वरुपा देवीको पूजा आराधना गरिन्छ

नवरात्रको पाँचौं दिन पूजिने स्वरूप हो— स्कन्दमाता । देवता र दानवबीचको भीषण संग्राममा देवसेनाका प्रमुख सेनापति स्कन्द कुमार (कार्तिकेय) भए । यही वीर कुमारकी आमा भएकी कारण देवीलाई स्कन्दमाता भनिन्छ ।

शिवपुराणसहित विभिन्न ग्रन्थहरूमा स्कन्द कुमारलाई शक्तिशाली, तेजस्वी र देवसेनाका विजयी नायकका रूपमा वर्णन गरिएको पाइन्छ । स्कन्दमाताले यस स्वरूपमा केवल मातृत्वको करुणा मात्र होइन, धर्मरक्षाका लागि आवश्यक शक्ति र संरक्षणको प्रतीकत्व पनि प्रस्तुत गर्नुहुन्छ ।

छैठौं दिन कात्यायनी स्वरुपा देवीको पूजा आराधना गरिन्छ

नवरात्रको छैठौं दिन पूजिने स्वरूप कात्यायनी हो।

हाम्रो अगाडि जे केही घट्छ, जसलाई हामी प्रपञ्च भन्छौं, त्यो सबै अनिवार्य रूपमा हामीलाई देखिँदैन। त्यो जुन अदृश्य छ, जसलाई हाम्रो इन्द्रियहरूले अनुभव गर्न सक्दैनन्, त्यो हाम्रो कल्पनाभन्दा धेरै पर र विशाल छ।

सूक्ष्म जगत, जुन अदृश्य र अव्यक्त छ, त्यसको सत्ता देवी कात्यायनीले चलाउँछिन्। आफ्नो यस रूपमा उनी ती सबैको सूचक हुन्, जुन अदृश्य वा बुझ्न असम्भव छ। देवी कात्यायनी दिव्यताको अति गोप्य रहस्यहरूको प्रतीक हुन्।

दुर्गा पूजा को सातौँ दिन माता कालरात्रीको उपासना गर्ने परम्परा छ।

 यस दिन साधकको मन ‘सहस्रार’ चक्रमा स्थिर रहन्छ। यसले ब्रह्माण्डका सम्पूर्ण सिद्धिहरूको ढोका खोल्न थाल्छ।महिसासुर लगायतका दानवहरूले देवताहरूलाई कष्ट दिएका कारण, महिसासुरलाई नष्ट गर्न उत्पन्न भएकी नवदुर्गाले छैटौं दिनसम्म दानवहरूको सत र असत छुट्याएर बध गर्ने दृढ संकल्प गरिन्। सातौँ दिन, उनले कालरात्रीको भयानक रूप धारण गरी, महिसासुरले भगवान् विष्णुबाट पाएको वरदान समेत निष्फल पार्ने गरी आफ्नो काखमा समेटेर नङबाट महिसासुरको वध गरिन् र असत्यमाथि सत्यको पूर्ण विजय हासिल गरिन्।

देवी कालरात्रीलाई व्यापक रूपमा माता देवी—काली, महाकाली, भद्रकाली, भैरवी, मृत्यु, रुद्राणी, चामुण्डा, चण्डी र दुर्गाका विभिन्न विनाशकारी रूपहरूमध्ये एक मानिन्छ।

नवरात्र महाष्टमीको दिन विधिपूर्वक पूजा गरिने दिव्य शक्तिस्वरूपा भगवती महागौरी हुन्

उज्यालोग सेतो वर्ण र निर्मल सेतो पहिरनले सुसज्जित, वृष वाहनमा विराजमान, चार भव्य हात भएकी देवीलाई महागौरीको नामले चिनिन्छ। यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल, माथिल्लो बायाँ हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा रहेका छन्। उनका हातहरूको मुद्रा शान्त र सौम्य देखिन्छ। बाल्यकालदेखि नै पार्वतीको रूपमा, उनले कठोर तथा दीर्घकालीन तपस्याद्वारा शिवजीलाई पाउनको लागि अडिग प्रतिज्ञा गरेकी थिइन्। उनको दृढ प्रतिज्ञा यस्तो थियो—यदि महादेवलाई पाएँ भने वरण गर्नेछु, नभए शुद्ध कुमारीको रूपमा रहिरहनेछु।

नवौ दिन सिद्धिदात्री स्वरुपा देवीको पूजा आराधना गरिन्छ

दायाँ हातमा स्वस्तिक र कमल तथा बायाँ हातमा अमृतघडा धारण गरेकी नवदुर्गाको नवौँ रूपलाई सिद्धिधात्री भनिन्छ। उनी अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकम्प, ईशित्व र वशित्व गरी कुल आठ सिद्धि प्रदान गर्न सक्षम भएकी भएकाले यस नामले विख्यात छन्। असत्यमाथि सत्यको विजय गर्दै, आफूले थालिएका कार्यहरूको सिद्धि पुरा गर्नसक्ने, र सम्पूर्ण यज्ञलाई सफल तथा पवित्र बनाउने शक्ति उनले धारण गरेकी छिन्।

(बराल केन्द्रीय संस्कृत विश्वविद्यालय दिल्लीका सहायकाचार्य तथा शोधछात्र हुन्।)  

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?