
जनकपुरधाम- दशैँको समयमा हुनसक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गरेर जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको छ ।
दशैँमा हुने समयमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने र जनकपुरधाममा दशैँको समयमा सुरक्षा चुनौती थपिएको हो । जसकारण सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।
दशैँलाई सुरक्षित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले नगरको विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट, गाउँ गाउँमा गस्ती टोलीका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ ।
चाडवाडको समयमा सुरक्षाका लागि ८ सय ५ नेपाल प्रहरीका साथै ४ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताए।
जनकपुरधाममा चाडवाडको समयमा अन्य समयको तुलनमा भीडभाड हुने भएकाले जिल्ला प्रहरीले नगरका साथै धनुषाका गाउँ गाउँमा सुरक्षा गस्ती बढाएको छ ।
यसका साथै कुनै त्यस्तो अवाञ्छित क्रियाकलाप देखिएमा प्रहरीलाई जानकारी दिन प्रहरी उपरीक्षक रेग्मीले आग्रह गरे। उनले शहरी क्षेत्रमा ५ मिनेट भित्र पुग्ने तथा ग्रामीण क्षेत्रमा १० मिनेट भित्र पुग्ने गरी तयारी गरिएको बताए।