आइसियू बेड नम्बर २– गोलीले ढलेका दाइ, चिन्ताले गलेका भाइ

आइसियू बेड नम्बर २– गोलीले ढलेका दाइ, चिन्ताले गलेका भाइ
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँमा आन्दोलनको बेला गोली लागी गम्भीर घाइते भएका सलाउद्दिनको भाइसँगै अस्पतालमा १३ दिनदेखि बस्दै आएको छ।
  • सलाउद्दिनको गोलीले मृगौला क्षतिग्रस्त भएको र उनी आइसीयूमा उपचाररत भएपछि भाइ आर्थिक संकटमा छन्।
  • घरकै खम्बा मानिएका सलाउद्दिनको घाइते अवस्थाको कारण सिर्जित आर्थिक समस्याले परिवार कर्जामाथि निर्भर भएको छ।

काठमाडौँ– भदौरे न घाम, न पानी कसैको भर हुँदैन। छिनमै घामले चिरिक्क पार्नसक्छ। छिनमै पानीले रुझाउन पनि। यस वर्ष असोज लागिसक्दा पनि भदौरे मौसमले छाडेको छैन।

उस्तै छ– ७ असोजको दिन पनि। समयले २ बजाइसकेको छ। घाम र डुलिहिड्ने बादलको लुकामारी चलिरहेकै छ। महम्मद नजाउद्दिन त्रिवि शिक्षण अस्पतालको पानी छेक्ने, घाम नछेक्ने प्रतिक्षालयमा बसेर भक्कानिएर आउने मनलाई रोक्न सकिरहेका छैनन्।

‘म त दाइलाई हेर्नै सक्तैन। हेर्‍यो कि मन थाम्नै सक्तैन। आँसु आइहाल्छ के’, आफ्नै लवजमा उनले भारी मन खुलाउने प्रयास गरे। उनका २४ वर्षीय दाइ महम्मद सलाउदिन त्रिवि शिक्षण अस्पतालको आइसियू बेड नम्बर दुईमा मृत्युलाई जित्न लडिरहेका छन्।

‘दाइलाई २४ गते जेनजी आन्दोलनमा गोली लागेको रे’, अरुबाटै सुनेको कुरा उनले सुनाए।

उनीहरूको घर सर्लाहीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ छप्कीमा हो। दाई सलाउद्दिन भदौ २२ गते घरदेखि काठमाडौँ हिडेका थिए, विदेश जानका लागि पासपोर्ट लिन।

२३ गते काठमाडौँमा जेन-जी आन्दोलन भयो। सोही दिन १९ जनाको प्रहरीको गोली लागेर ज्यान गयो। त्यसको विरोधमा २४ गते काठमाडौँसहित देशभर प्रदर्शन भयो।

सलाउद्दिन पनि सोही दिन हो, बन्दुकको गोलीले ढलेको। दाइ प्रदर्शनमा हुँदा गोली लागेको हो कि अन्य काममा भएका बेला हो, भाइलाई थाहा छैन।

उनलाई दाइका साथीले भनेको यति थाहा छ, चक्रपथतिर गोली लाग्यो र दाइ ढले। सडकमा ढलेका दाइलाई साथीहरूले उठाएर अस्पताल अस्पताल पुर्‍याइदिए। कुन अस्पताल हो, त्यो पनि उनलाई थाहा छैन। त्यहाँ उपचार हुन नसकेपछि दाइलाई त्रिविमा ल्याइएको हो।

गोली यति निर्ममरुपले लागेको छ कि १५ दिनसम्म पनि सलाउद्दिन आइसियूमा छन्। उनको पेटमा लागेको गोली देब्रे कोखाबाट निस्किएको छ। गोली आफूमात्रै निस्किएन, त्यसले सलाउद्दिनको देब्रे मृगौला पनि आधा लिइगएको छ।

‘गोलीले मृगौलाको यत्रो टुक्रा छुट्यादिएको थियो रे’, हातको इसारामा देखाउँदै भाइ नजामुद्दिनले भने।

दाइलाई भेट्न निश्चित समय छुट्याइएको छ। त्यसैबेला हो, नजामुद्दिनले पनि दाइलाई भेट्न पाउने। भाइसँग भेट भयो भने दाइले भन्ने गर्छन्– ‘मलाई छाडेर कहाँ गएको तँ?’

उनले बेडबाटै आमालाई सम्झिरहन्छन्। बुबालाई, दुई छोराछोरी, श्रीमती सबैको अवस्थाबारे भाइसँग सोध्ने गर्छन्।

‘भेट्न गएका बेला मलाई छाडेर कहाँ गएको तँ पनि भन्नुहुन्छ। यहीँ बस भन्नुहुन्छ। भित्र त बस्न दिँदैन नि। अनि मैले भन्छु हामी सधैं बस्न पाउँदैन’, उनले दाइ-भाइबीच हुने कुरा सुनाए।

‘कहिलेकाहिँ भेट्न गएको समयमा दाइ निदाएको हुनुहुन्छ। त्यसबेला नबोलाएपछि अर्कोपटक मलाई उठाएस्। बोलेस् पनि भन्नुहुन्छ। कुरा गर्न खोज्नुहुन्छ के दाइले’, अगाडि कुरा थपे भाइ नजाउद्दिनले।

हलक्क बढेको पातलो ज्यान। तौलिएको भए सायद ५० केजी पनि छैनन् कि! अनुहार उस्तै कमलो छ। मासु थिग्रिनसकेको हात–खुट्टा। उमेर त भर्खर १९ वर्ष भयो भाइको।

साथमा एउटा ब्याग बोकिहिडेका छन्। बिरानो काठमाडौँमा साथ दिने को पो हुन्छ र! साथको त्यही ब्यागसँग दिन पनि रात पनि कटाउन थालेको १३ दिन पुगेछ। न बस्नेको ठेगान छ। अस्पतालकै एक कुनामा रात कटाइरहेका छन्। खानेको पनि ठेगान छैन।

‘खान मन पनि लागेकै छैन’, उनले भने। फेरि भोकै त बस्न सकिँदैन। पेट पिरायो भने होटलमै ज्यान तंग्राउन उनले खान खाने गरेका छन्।

दाइ कहिले निको हुनुहुन्छ? भाइलाई डाक्टरले जवाफ सुनाएका छैनन्। उनलाई अनुमान पनि छैन। अझै कति दिन अस्पतालमा उसैगरी बस्नुपर्ने हो। ‘थाहा छैन दाइ कहिले निको हुने हो’, भारी मन बनाउँछन्।

भेट्ने समय भयो भने उनले दाइलाई भेट्छन्। अस्पतालभित्र नपाइने औषधि ल्याउन पठाएमा त्यही लिएर दिन्छन्। बाँकी समय नजाउद्दिन दाइको सन्चोका लागि कामना गरी दिनरात बिताइरहेका छन्।

घरकै खम्बा थिए सलाउद्दिन

मृगौला चुँडिने गरी गोलीले ढलेका सलाउद्दिन घरकै खम्बा हुन्। भाइका अनुसार उनी सर्वाजनिक गाडीमा सहचालकको काम गर्थे। त्यहीबाट भएको आम्दानीबाट घर चल्ने गरेको थियो।

हुन त घरमा बुबा, आमा, श्रीमती पनि छन्। साथमा १९ वर्षीय भाइ नजाउद्दिन पनि। तर घरखर्च चल्नका लागि सलाउद्दिनकै भर थियो। ‘सबै दाइकै भरमा थियो’, मिलन अनुहारमा भने।

दाइ अब विदेश जाने तयारीमा थिए। माध्यमिक शिक्षा पनि पूरा नगरेका उनी भिसा लगाउन काठमाडौँ छिरेका थिए। सायद उनल सोचेका थिएनन् होला, काठमाडौँ यति निर्मम होला र मृगौला छिनाइदेला भन्ने।

घाइते श्रीमान्‌लाई श्रीमतीले देख्न पाएकी छैनन्। उनी सर्लाही घरमै छिन्। देवरबाटै श्रीमान्‌को अवस्थाबारे जान्न खोज्छिन्। ‘जतिबेलै पनि भाउजुले दाइलाई सम्झियो कि रुनेमात्रै गर्नुहुन्छ’, नजाउदिनले घरको अवस्थाबारे सुनाए।

बुबा–आमाको अवस्था पनि उस्तै छ। आमा भने घाइते छोरालाई भेटर घर फर्किएकी हुन्। २४ गते गोलीले ढलेका सलाउद्दिनको अवस्थाबारे सोही दिन घरमा खबर पुगेन। अर्को दिनमात्र घरमा खबर पुगेको थियो।

‘हामीलाई अर्को दिनमात्र खबर पुगेको हो। मलाई त विश्वासै लागेको थिएन दाइलाई गोली लागेको छ भनेर’, भाइले त्यतिबेलाको कुरा सम्झिए, ‘पछि अस्पतालको बेडमा ढलेको फोटो पठाएपछि मात्र विश्वास भयो।’

सायद घरपरिवारलाई लागेको थियो होला, पासपोर्ट निकाल्न गएको छोरा कसरी आन्दोलनमा गएको होला र! ‘तर नसोचेकै भयो के। दाइले त पासपोर्ट पनि निकाल्न पाउनु भएनछ’, भाइले भने।

दाइ गोलीले ढलेको खबर घरमा पुगेपछि काठमाडौँ आउन पनि घरपरिवारलाई कम्ता दु:ख भएन। देशमा कर्फ्यू छ। गाडी चलेको छैन। गाउँमा साथीलाई भनेर नजाउद्दिन बाइकमा जसोतसो काठमाडौँ आइपुगे।

गोलीले ढलेका दाइ त सलाउद्दिन हुन्। तर सलाउद्दिन भेटिदैनन्। पछि थाहा भयो दाइको नामनै अर्कै लेखिएको रहेछ अस्पतालमा। सलाउद्दिन गोलीले बेहोस भएपछि अनुमानमा नाम महम्मद अली लेखिएछ।

अस्पतालमा अहिले पनि त्यही नामबाटै औषधि उपचार भइरहेको छ। ‘दाइको नाम चिनेको कोही थिएन होला। मुस्लिम जस्तो लागेपछि महम्मद अली लेखिदिए होलान्’, दाइको नाम कसरी फरक पर्न गयो भन्ने अनुमान गर्छन् भाइ।

कर्जा तिर्ने छोरालाई कर्जाकै भर

जेठो छोरा गोलीले ढलेको खबरपछि ६० हजार बोकाएर आमाले कान्छो छोरा नजाउद्दिनलाई काठमाडौँ पठाएकी थिइन्। त्यो पैसा घरमै थियो कि कर्जा (ऋण) गरेको हो नजाउद्दिनलाई ठ्याक्कै त थाहा छैन।

तर उनी अनुमान गर्छन्– सायद कर्जै लिएको होला। ‘घरमा पहिलेनै धेरै कर्जा छ यति पैसा घरमा थियो कि कर्जा हो थाहा त छैन। कर्जा हुनसक्छ’, उनले आर्थिक अवस्था सुनाए।

उनी आफै बोकी आएको ६० हजार रुपैया १३ दिनमा सकिन लागिसकेको छ। ‘मसँग ३० हजारजति बाँकी छ’, उनले भने।

जेन-जी आन्दोलनमा घाइते भएकालाई सरकारले निशुल्क उपचार गर्ने भनेको छ। त्यसअनुसार उपचार पनि भइरहेको छ। तर नजाउदिनलाई औषधिहरू किन्नु परिरहेको छ।

‘अस्पतालभित्र त सबै फ्री छ। यहाँ केही किन्नु परेको छैन। तर यहाँ नपाइने औषधिहरू बाहिरबाट ल्याउनुपर्छ। त्यसमा पैसा सकिन्छ’, उनले भने।

सोमबार (असोज ६ गते) दुई पोका रगत लिन अलि टाढा जानुपर्‍यो। अपरिचित काठमाडौँमा हिडेर पुग्न सकेनन् उनी। ‘दुई पोका रगत लिन अलि टाढा अर्को अस्पताल गएँ। त्यहाँ जाँदा ट्याक्सीले ७०० खाइदियो’, उनले काठमाडौँको भोगाइ सुनाए।

तस्बिर: बर्षा शाह/देशसञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?