
हुम्ला – स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा औषधि अभाव भएपछि मागेर ब्यवस्था गर्नुपर्ने भएको छ। अस्पतालका लागि ब्यवस्था भएको बजेट निकास ढिलो आएका कारण खरिद गर्न नसकिएकाले प्रदेश आपूर्ति केन्द्रमा मागेरै ब्यवस्था गर्नुपरेको हो।
खासगरी साउन, भदौ र असोजामा बढी बिरामी आउने र औषधि पनि बढी आबश्यक पर्ने भएकाले यस बीचमा प्रदेश आपूर्ति केन्द्रसँग तीन पटक मागेर काम चलाउनुपरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले जानकारी दिए।
हालसम्म प्रदेश आपूर्ति केन्द्रसँग १५ लाख रुपैयाँ बराबरको औषधि मागेरै चलाइएको उनले बताए। यो पनि चिनजान र भनसुनले काम गरिएको भन्दै उनले यो जुक्ति नलगाउने हो भने जिल्लाको बजेटले अस्पताल चलाउनै कठिन हुने बताए।
जिल्लामा औषधि खरिदका लागि विनियोजित बजेट निकासा नआएका कारण यस्तो उपाय अपनाउनुपरेको हो। जिल्ला अस्पतालका लागि औषधि खरिद गर्न वार्षिक १५ लाख मात्र बजेटले केही गर्न नसकिने भन्दै उनले मन्त्रालयमा चिनजानका हाकिमसँग समस्या देखाउने र औषधि माग्ने गरेको बताए।