
एसिया कप क्रिकेटमा पहिलो पटक भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबार दुबईमा हुनेछ।
पाकिस्तानले बंगलादेशलाई ११ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
पाकिस्तानका बलरहरू शाहिन शाह अफ्रिदी र हरिस रउफले समान ३-३ विकेट लिए।
एसिया कप क्रिकेटको इतिहासमा पहिलो पटक भारत र पाकिस्तानबीच फाइनल हुने पक्का भएको छ। दुबै टिमबीच आइतबार (सेप्टेम्बर २८) दुबई इन्टरनेशनल स्टेडियममा प्रतिस्पर्धा हुनेछ।
पाकिस्तानले बिहीबार राति सम्पन्न खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। १३६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बंगलादेश २० ओभरमा ९ विकेट गुमाएर १२४ रनमा समेटिएपछि पाकिस्तान विजयी भएको हो।
बंगलादेशका लागि सामिम होसेनले सर्वाधिक ३० रन बनाए। नुरुल हसनले १६, साइफ हसनले १८, तान्जिम हसन सकिबले १० रन योगदान गरे भने रिसद होसेनले अविजित १६ रन जोडे। पाकिस्तानका लागि साहिन शाह अफ्रिदी र हरिस रउफले समान ३–३ विकेट लिए। त्यस्तै, साइम अयुबले २ तथा मोहम्मद नवाजले १ विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको योगफल बनाएको थियो। उसका लागि मोहम्मद हरिसले ३१ रन योगदान दिए। प्रारम्भिक चरणमै ३३ रन जोड्दा ४ विकेट गुमाएको पाकिस्तानले ४९ रन पुर्याउँदा पाँचौं विकेट गुमाएको थियो। तर, पछिल्ला ब्याट्सम्यानहरूले इनिङ समाल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।
पाकिस्तानका लागि मोहम्मद नवाजले २५, साहिन शाह अफ्रिदीले १९, फहिम असरफले १४, ओपनर फखर जमानले १३ तथा कप्तान सलमान आघाले १९ रन जोडेका थिए।
बलिङतर्फ बंगलादेशका तस्किन अहमेदले ३ विकेट लिए भने मेहेदी हसन र रिसद होसेनले २-२ विकेट हात पारे। अर्को एक विकेट मुस्ताफिजुर रहमानले लिन सफल भए।