
- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट भएको तोडफोड र आगजनीले निजी तथा सरकारी सम्पत्ति र सवारी साधनमा ठूलो क्षति पुऱ्यायो।
- कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेकोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा मात्र २५७ दाबी पुगेका छन्।
- क्षेत्रीले बीमा कम्पनीहरूले अब पनि जोखिम मोल्नुपर्छ र ग्राहकलाई राम्रो सेवा दिनुपर्ने बताउँछन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट देशभरिका निजी तथा सरकारी सवारी साधन र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी भयो, जसकारण बीमा क्षेत्रमा ठूलो बित्तीय दबाब सिर्जना देखिन्छ। सबैभन्दा धेरै दाबी सम्पत्ति बीमा र मोटर बीमातर्फ परे पनि ठूलो रकम भने औद्योगिक र व्यावसायिक सम्पत्तिमा भएको क्षतिमार्फत् दाबी गरिएको छ।
यस्तो अवस्थामा निर्जीवन बीमा कति हतोत्साहित छ तर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री निर्जीवन बीमा कम्पनीहरू खासै हतोत्साहित भएका छैनन् र यो समय पछाडि हट्न नहुने पनि बताउँछन्। क्षेत्री आफ्ना ग्राहकलाई आफ्नो इन्स्योरेन्स कम्पनीको वेबसाइटमार्फत अनुरोध गरिरहेका छन्— ‘आदरणीय ग्राहक महानुभावहरु तपाईंले आफ्नो व्यवसाय, सवारी साधन वा अन्य सम्पत्ति यस कम्पनीमा बीमा गर्नु भएको छ? यदि हालैको हुलदंगा आगजनी वा तोडफोडबाट क्षति भएको छ भने, कृपया क्षतिपूर्ति दावी गर्न तुरुन्तै हाम्रो कार्यालय वा सम्पर्क नम्बर गर्नुहोस्।’
निजी तथा सरकारी सम्पत्तिमा भएको क्षतिलाई हेर्दा नेपाल विमा प्राधिकरणले गए मंगलबार सबैभन्दा बढी क्षति बागमतीमा नै भएको बताएको छ। आइतबारसम्म बिमा कम्पनीहरूमा २२ अर्ब २५ करोड ६५ लाख रुपैया बराबर बिमा दावी परेको छ। यसमा पनि सबैभन्दा धेरै १ हजार ७ सय ७८ वटा मोटर बिमा परेका छन्। सम्पत्ति बिमा ५ सय ३८, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाका १ सय ३२ पारवाहन बिमाका ११ र अन्य १९ छन्। यस्तो अवस्थामा निर्जीवन बीमा कम्पनीहरू एक ठाउँमा उभिएर सामना गर्नु पर्नु बताउँछन् क्षेत्री। भन्छन्, ‘हामीले यतिखेर नोक्सान भयो, घाटामा गइयो भनेर चिन्ता गर्नुपर्ने छुट निर्जीवन बिमा कम्पनीलाई छैन। बरू ग्रहाकलाई बेस्ट सर्भिस कसरी दिने भन्ने बारे सबैले सोच्नु पर्ने समय हो।’
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मिलेर बनेको सलिकोको सिइओ क्षेत्री इन्स्योरेन्सले रिक्स लिएरै व्यापार गर्दै आएको बताउँछन्। ‘यस्तो दुर्घटना आइपर्न सक्छ भनेर नै हामीले बीमा गर्ने हो। यस्तो जोखिमको घडीमा पछाडि हट्ने कुरै हुँदैन,’ सिइओ क्षेत्रीले भने ।
असोज ५ गते नेपाल बीमा प्राधिकरणले संकलन गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा जम्मा २ हजार ४७८ वटा दाबी दर्ता भई २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गरिएको छ जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको मात्र २५७ दाबी, १ अर्ब ५४ करोड ५६ लाख रुपैया रहेको बताउँछन् क्षेत्री।
२०७२ सालको महाभुकम्प, कोभिड तथा बाढीपहिरो जस्ता विपत्तिमा पनि इन्स्योरेन्स कम्पनीहरुले चुनौती मोल्दै आएका थियो। जेन—जी आन्दोलनले भने नसोचेको क्षति पुर्यो। ‘ठ्याक्कै नोक्सान या घाटा खोज्ने समय होइन। इन्सुरेन्स भनेको त रिक्स मोल्नु हो। हामीले अहिले जसरी पनि क्लेम सेटेल्मेन्ट गर्छाैँ,’ उनले भने।
क्षेत्रीका अनुसार ७२ काे भूकम्प आउनुअगाडि अर्थ जोन सम्भावित छ भनेर बीमा कम्पनीहरुमा बहस उठेकाे थियाे । उनी भन्छन्, ‘जेन-जी आन्दाेलन अघि पनि केही हुन सक्छ भन्ने अनुमान त थियाे । तर यति धेरै नाेक्सान हाेला भनेर साेचिएकाे थिएन। तर भयाे।’
क्षेत्री २०७२ सालदेखि सरकारी सम्पत्तिको पनि बीमा गर्नु पर्छ भनेर अनुरोध गर्दै आएपछि खासै चासो नदेखाउने गरेकोप्रति गुनासो गर्छन्, ‘सरकारको सम्पत्ति संरक्षण मानवीय सुरक्षाले हुँदोरहेनछ भन्ने त जेन—जी आन्दोलने गर्दोरहेनछ। त्यसो हुँदा सरकारी सम्पत्तिको बीमा गरिदिएको भए अहिले सरकारलाई पनि सजिलो हुन्थ्यो भने जनतामा पनि अवेयरनेस आउँथ्यो। तर सरकारले मनन गरेन।’
‘नेताहरुले बुझ्थे भने सरकारी सम्पत्तिको बीमा गर्नु पर्छ भनेर बोल्थे।’
सरकारले ‘अवेयरनेस ‘को भूमिका खेलिदियो भने जनतामा पनि बीमाको बारेमा थप चासो बढ्ने बताउँछन् क्षेत्री। जेन–जी आन्दोलनले जनताको सम्पत्ति पनि लुटपाट तोडफोड र आगजनी भयो। तर देशमा कहाँ कतिखेर दुर्घटना वा विपत्ति हुन्छ भन्ने त थाहा हुँदैन। क्षेत्री भन्छन्, ‘हिजोको दिनमा बीमाको बारेमा कुरा गर्याे कि लुट्नै आएको हो भन्थे। अथवा बीमा गर्ने संस्कार थिएन। त्यसो हुनु भनेको सरकारको भूमिका बीमा प्रति सकारात्मक हुन नसकेर हो।’
थोरै पैसा जम्मा गरेर बीमा गरिने हो। अप्ठ्यारो घडीमा बीमा काम लाग्छ। जेन–जी आन्दोलनपछि आम मान्छेको मोटर पनि जलेको छ। तोडफोड गरेको छ। मोटर जल्दा पनि बीमाका कारण सुरक्षित हुन सकिने हो। तर बीमा गर्ने संस्कार नेपालमा अत्यन्तै न्यून रहेको बताउँछन क्षेत्री।
बीमा तत्कालका नाफाका लागि गरिने होइन। अर्को पुस्तालाई हस्तान्तरण गर्न सकियोस् भनेर जम्मा गरिने हो। तर त्यसखालको जनचेतना नेपालमा कम छ। क्षेत्रका अनुसार अहिलेको दुर्घटनामा निर्जीवन बिमा कम्पनीलाई साथ र सहयोग गर्नु पर्ने हुन्छ। अहिलेको घडीमा जनताले तिरे पनि सरकारको समन्वयन गर्नु पर्ने बताउँछन् उनी। भन्छन्, ‘अबदेखि त सरकारले पनि आफ्नो सम्पत्तिको सुरक्षाका लागि बीमा गर्नै पर्छ। बजेट छुट्याए हुन्छ।’
अहिले भएको नोक्सानको पनि प्रहरी रिपोर्ट वा यातायात कार्यलयबाट पुष्टि भएका कागजातहरु। नवीकरण गरेको, कर तिरेको छ छैन भन्ने पुष्टि भएपछि मात्रै बीमा कम्पनीले नोक्सानको भर्पाइ गर्न सक्ने हो। ‘सवारी साधन त कुनै कुनै पुष्टि गर्न गाह्रो छ। तै पनि हामीले ग्राहकलाई मर्का नपर्ने गरी काम गर्न सल्लाह गरिरहेका छौँ,’ क्षेत्रीले भने।
नयाँ मोडालिटी तयार गर्दै गरेको कुरा पनि गरे उनले । कसरी अगाडि बढ्ने ? ग्राहकलाई कसरी सहज रुपमा सहयोग पुर्याउने भन्ने बारे पनि छलफल भइरहेको बताए। ‘धेरैथोक जलेको छ। जसलाई सबै स्टेक होल्डर मिलेर हामी समाधान गर्ने कोसिसमा छौँ। केही समय त लाग्छ,’ उनले भने।
अहिले पनि थुप्रै गाडी र घरहरू जलेको छ। बीमाका लागि भनेर पार्टीका नेता वा कार्यकर्ता आएका छैनन्। बरू घर मालिक वा ड्राइभरहरु बीमा कम्पनीमा बुझ्न आइरहेको बताउँछन क्षेत्री। भन्छन्, ‘नेताहरुले बुझ्थे भने सरकारी सम्पत्तिको बीमा गर्नु पर्छ भनेर बोल्थे।’
सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पुर्व क्षेत्री ओरेन्टल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा काम गरिसकेका थिए।