उकुसमुकुस घरमा हुर्किएको ‘जेन-जी क्रान्ति’

उकुसमुकुस घरमा हुर्किएको ‘जेन-जी क्रान्ति’
+
-

घर कता छ? हामीले सोध्यौँ।

यहीँ अगाडि (हातको इसारा गर्दै) तल हो। घर भन्दा पनि सानो टहरा छ। निश्चल थापा मगरले ‘निश्चल’ मनबाट आफ्नो ठेगाना बताए।

त्यसमा हाम्रो कुनै प्रतिक्रिया रहेन। उनी अगाडि हिँडे। हामी उनलाई पछ्यायौँ मात्र।

निश्चललाई हिँड्न गाह्रो भइरहेको महसुस गर्न कठिन थिएन। तर उनी सम्हालिएर विस्तारै अघि बढे, घरतिर।

उमेरले २३ वर्ष पुगेका उनलाई गोलीले दायाँ पिठ्यूबाट बायाँ पिठ्यूसम्म छेडेको छ। उनको पिठ्यूमै अड्किएको गोली अप्रेसन गरी निकालिएको चार दिन मात्र भयो।

उनी सहज दिशा–पिसाब गर्न पनि सक्दैनन्। डाक्टरले पेट चिरेर दिशा–पिसाब निक्लने ठाउँ बनाइदिएका छन्।

२३ भदौमा जेन-जी आन्दोलन भयो। आन्दोलनमा गोली चल्दा नयाँ बानेश्वरमा १९ जनाको गोली लागेर ज्यान गयो। ज्यान जानेमध्यमा एक जना निश्चलकै साथी थिए।

उनी प्राय: घरमा एक्लै हुन्छन्। त्यसदिन पनि एक्लै मोबाइल हेरिरहेका थिए। आन्दोलनमा साथीको गोली लागेर ज्यान गएको खबर पढे। तस्बिर देखे। ‘मेरो साथीलाई नै गोली लाग्यो। उसको ज्यान गयो’, उनले भने।

         निश्चल थापा मगर

‘त्यसरी त गोली नहान्नुपर्ने थियो नि। हान्न पाउँदैन नि’, उनी अझै पनि आक्रोश व्यक्त गर्छन्।

अर्को दिन २४ गते आन्दोलन निरन्तर रहने भयो। आजसम्म आन्दोलनमा नपुगेका उनी त्यसदिन पनि घरमै थिए। कहाँ के भइरहेको छ मोबाइलमै हेरिरहेका थिए। संसद् भवन जल्यो। ठाउँ–ठाउँमा आगजनी भइरहेको हेरिरहे।

दिनको १२ बजेको थियो। त्यसैक्रममा उनको मोबाइलमा एउटा समाचार आयो– प्रधानमन्त्री केपी शर्मा ओली एयपोर्टबाट भाग्दैछन्।

उनलाई लागेको थियो– २३ गते साथीलाई गोली हान्ने आदेश दिने प्रधानमन्त्री हुन्। साथी गोलीले ढलेपछि उनी मुरमुरिएका थिए। त्यसपछि नजिकै एक जना साथीलाई बोलाए। अनि दुवैजना हिँडे प्रधानमन्त्री ओलीलाई रोक्ने त्रिभुवन विमानस्थलतिर।

‘केपी ओली भाग्न लागेको खबरपछि उनलाई किन भाग्न दिने भन्ने लाग्यो। हामी पनि एयरपोर्ट बन्द गर्न यहाँबाट हिडेका थियौँ’, निश्चलले त्यस दिनको कुरा बताए।

बाटोमा जताततै आन्दोलन भइरहेको थियो। त्रिवि शिक्षण अस्पताल अगाडिबाट चक्रपथतिर निस्किए। महाराजगन्जमा प्रहरी बिट छ। त्यहाँ आन्दोलनमा आएकाहरूको भीड थियो।

एयपोर्ट हिडेका निश्चल र उनका साथी पनि त्यही अड्किए। भीड उग्र बन्यो। प्रहरीले गोली चलायो। एउटा गोली करेन्ट लागेजसरी लाग्यो र निश्चल चक्रपथमै ढले।

‘एयपोर्टतिर प्रहरीले जानै दिएको थिएन। हामी पनि त्यही रोकिएकोबेला प्रहरीले गोली चलायो’, उनले भने, ‘करेन्ट लागेजस्तो भएको थियो। म त सडकमा ढलेछु।’

उनलाई साथीहरूले उठाएर प्रहरी बिट अगाडि मेट्रो अस्पताल पुर्‍याए। त्यहाँबाट तत्कालै त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएको थियो। त्रिविमा उनको आधा घण्टामै घाउको अप्रेसन भयो।

पिठ्यूमा अड्किएको गोली देखाउँदै निश्चल

गोलीको असह्य अहिले पनि उनी सम्झिदा झस्किन्छन्। ‘पेनकिलर दिँदा पनि गोली लागेको दुखिरहेको थियो। गोलीको त धेरै दुखाइ हुँनेरहेछ’, उनले घरको पलङमा बसेर सुनाए।

उनी घरमा एक्लै छन्। त्रिवि शिक्षण अस्पतालको पश्चिमतिर उनको घर छ। उनकै शब्दमा सानो टहरा छ। उनी यहीँ हुर्किएका हुन्।

टहराभित्र मुस्किलले सानो–ठुलो गरी दुईवटा पलङ अटेका छन्, पूर्वपश्चिम र उत्तर–दक्षिण गरी। त्यही हो खाना पकाउने पनि।

भित्रबाट खुला आकाशलाई देख्न सकिन्छ। जेनतेन जस्तापाताले घाम–पानी छेकेको छ।

मंगलबार (असोज ७ गते) दिनको साढे ३ बजे। पश्चिमतिर घाम ढल्कदै गरेको छ। सहरका बडेमानका घरअघि उनको घर सानो भए पनि उचो ठाउँमा भएको हुँदा घाम ढल्कदै गरेको सहजै देखिएको छ।

आमा कहाँ हुनुहुन्छ? ‘काममा जानुभएको छ’, निश्चलले जानकारी गराए। उनकाअनुसार आमा अरूको घरमा सहयोगीको काम गर्न बिहानै ७ बजेतिर निस्कन्छिन्। रातपरेपछि मात्र घर फर्कन्छिन्।

छोरालाई गोली लागेको दिन पनि उनकी आमाले घर फर्किएपछि खबर पाएकी थिइन्। उनी अस्पताल पुग्दा निश्चलको अप्रेसन भइसकेको थियो।

निश्चल आमालाई गोली लागेको थाहा दिन चाहदैनथे। तर छिमेकी दिदीले आमालाई खबर भनिदिएकी रहिछन्। ‘म त आमालाई गोली लागेको थाहा नदिने भनेको थिएँ। तर यहीँ दिदी हुनुहुन्छ, उहाँले मेरो गोली लागेको फोटो देख्नुभएछ। उहाँले भन्नुभएको रहेछ’, निश्चलले भने।

किन आमालाई थाहा नदिन चाहेको? ‘आमाले चिन्ता मान्नुहुन्छ नि। तर गोली लागेको सानो होइन रहेछ। यति ठूलो जसरी पनि थाहा भइहाल्थ्यो नि है’, मुस्कुराउने प्रयास गर्छन् उनी।

बुबा? ‘बुबा त दुई–तीन वर्षअघि बित्नुभयो’, पारी र्‍याकमाथि राखिएको बुबाको तस्बिर हेर्दै अलि भावुक भने निश्चल। सायद स्मृतिका सम्झना केही आएकी! काठमाडौँमा टेम्पो चालकको काम गर्दागर्दै बुबाको मृत्यु भएको उनले बताए।

कामको खोजीमा थिए ‘निश्चल’

निश्चल एक्ला सन्तान हुन्। उनले ८ कक्षा पास गरेका छन्। यसअघि मेडिकेयर अस्पतालमा हाउस किपिङको काम गर्थे। त्यहाँ काम छाडेर उनी फेरि कतै काम पाइन्छ कि भनेर केही ठाउँमा हाउस किपिङकै कामको खोजीमा थिए।

अब तत्काल उनी काम गर्न सक्ने अवस्थामा छैनन्। गोलीले छेडेको घाउ नै निको हुन ४–५ महिना लाग्ने डाक्टर भनेका छन्। तर उनी चाहन्छन्, छिट्टै घाउ निको होस्।

आफूलाई गोलीले छेडेपछि आमाले नराम्रो महसुस गरेको निश्चललाई लागेको छ। ‘मलाई गोली लागेपछि आमालाई नराम्रो भएको छ नि। छिटो निको होस् भन्ने हो’, उनले मनमा खेलेको कुरा बताए।

के चाहन्छन् निश्चल?

यसअघि निश्चल न आन्दोलनमा गएका थिए, नत उनीसँग फुर्सद नै हुन्थियो। न उनलाई आन्दोलनमा जान मन थियो, न त अनुमति नै पाउँथे।

यसपटक पनि उनी २३ गतेको जेन-जी आन्दोलमा गएनन्। ‘थाहा थियो आन्दोलन हुन्छ भन्ने तर म गइँन। यस्तोमा म जाने मान्छे नै होइन’, उनले भने।

उनी २४ गते पनि आन्दोलन चर्किन्छ भन्ने थाहा थियो। तर जाने तयारीमा थिएनन्। तर एकाएक केपी शर्मा ओली भाग्न थालेको सुनेपछि घरमा बस्न नसेकाका उनी पहिलो आन्दोलनमै गोलीको सिकार भए।

केपी ओलीलाई एयरपोर्टमा रोक्नेबाहेक उनको अर्को कुनै योजना थिएन। तर २४ गते जसरी सरकारी र व्यापारीक भवनमा तोडफोड, आगजनी भए त्यसले उनलाई अहिले पीडा थपेको छ।

‘लुटपाट भएको देखेर दु:ख लागेको छ’, उनी भन्छन्। यी लुटपाट भएको घटनाको छानबिन चाहन्छन् उनी।

आफूहरूले खाएको गोलीले देशमा नयाँ सरकार बनेको र यसबाट धेरै आशा रहेको उनले बताए। ‘देशमा केही चेन्ज हुन्छ कि भनेर हिँडेको। हेरौँ नयाँ सरकार बनेको छ। के हुन्छ हेर्दै जाउँ’, उनले भने।

विशेषत: उनी अबदेखि सिप अनुसारको रोजगार चाहन्छन्। ‘जसको जे सिप छ त्यसैअनुसारको रोजगारी होस्’, उनको माग छ।

भिडियो एक्सरेमा देखिएको निश्चलको पिठ्यूमा अड्किएको गोली

तस्बिर: बर्षा शाह/देशसञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?