
- तमिलनाडुमा विजय थलपतिको चुनावी र्यालीमा भागदौड हुँदा ३८ जनाको मृत्यु, ५८ भन्दा बढी घाइते भएका छन्।
- घटनापछि करुरमा उद्धार कार्यका लागि विशेष प्रहरी बल खटाइएको र मुख्यमन्त्रीले उपचारमा जोड दिएका छन्।
- आयोजक टिभिकेले १० हजार मानिस आउने अपेक्षा गर्दा १ लाख २० हजार मानिस सहभागि भएको थियो।
दक्षिण भारतिय राज्य तमिलनाडुको करुरमा शनिबार अभिनेता विजय थलपतिको सभामा भागदौड मच्चिदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। राजधानी चेन्नईबाट लगभग ४०० किलोमिटर दक्षिणपश्चिममा रहेको करुरमा विजयको चुनावी र्यालीमा भएको भागदौडमा मृत्यु हुनेमा १६ महिला तथा ८ बालबालिका समेत रहेका छन्।
तमिलनाडुका स्वास्थ्य मन्त्री एम ए सुब्रमणियनले घटनामा ५८ भन्दा बढी घाइते भएको जानकारी दिए। थलपति तमिलगा वेट्रि कजगम (टिभिके) का अध्यक्ष समेत हुन्।
उनको र्यालीमा ठुलो मात्रामा मानिसहरु पुगेका थिए। कार्यक्रम अघि बढ्दै जाँदा एक ९ वर्षीय बच्ची हराएको जानकारी थलपतिले पाएका थिए। लगतै उनले मञ्चबाट उनको खोजी गर्नका लागि अपिल गरेका थिए। लगतै भागदौड मच्चिएको जनाइएको छ। भीडमा फस्दा निस्सासिएर धेरैको मृत्यु भएको जनाइएको छ।
धेरै जना बेहोस भएकाहरुलाई करुर मेडिकल कलेज तथा वरिपरिका निजी अस्पतालहरूमा पुर्याइएको थियो। तमिलनाडु मुख्यमन्त्री एम के स्टालिनले करुरमा भएको घटना गम्भीर भएको बताए। मुख्यमन्त्री एम.के. स्टालिनले घाइतेको उपचारमा कुनै कमि नगर्न निर्देशन दिएका छन्।
शनिबार राति करुरमा राहत तथा उद्धार कार्यका लागि विशेष प्रहरी बलको थप टोली पठाइएको भारतिय पत्रिका द हिन्दूले उल्लेख गरेको छ। टिभिकेले आफ्ना नेता विजयको रोड शोका लागि प्रहरीसँग अनुमति माग्दा जम्मा १० हजार मानिस मात्र आउने अपेक्षा गरेको थियो।
टिभिकेले लेखेको पत्रमा भनिएको छ, ‘हामीले इन्जिनियरको सहयोगमा लाइट हाउस राउन्डटाना नजिकको क्षेत्र अध्ययन गरेका छौं। यो क्षेत्र १,२०,००० वर्गफुट छ र ६०,००० मानिस अटाउन सक्छ। तर हामीलाई जम्मा १०,००० मानिस मात्र आउने अपेक्षा छ।’ पत्रमा भनिएको थियो। तर प्रहरीले ५० हजार मानिस आउने अनुमान गरेको थियो। तर र्यालीमा १ लाख २० हजार भन्दा बढी मानिस सहभागि भएका थिए। विभिन्न दलका नेताहरुले मृतक प्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।