
- एट्लेटिको म्याड्रिडले म्याड्रिड डर्बीमा रियल म्याड्रिडविरुद्ध ५-२ को जीत हात पारेको छ, लगभग ७५ वर्षपछि पहिलो पटक पाँच गोल गर्दै।
- खेलको पहिलो हाफमा २-२ को बराबरी रहेको थियो, त्यसपछि एट्लेटिकोलाई जुलियन आल्भारेजको पेनाल्टी र फ्री–किक गोलले अग्रता दिलायो।
- यो हारसँगै रियल म्याड्रिडको शीर्ष स्थान गुम्ने सम्भावना बढेको छ, बार्सिलोनाले आफ्नो खेल जितेमा तालिकाको शीर्ष स्थानमा उक्लनेछ।
एट्लेटिको म्याड्रिडले करिब ७५ वर्षपछि पहिलो पटक म्याड्रिड डर्बीमा रियल म्याड्रिडविरुद्ध पाँच गोल गर्न सफल भएको छ।
पहिलो हाफमा १–० ले पछि परेको एट्लेटिकोले खेललाई २–२ को बराबरीमा ल्यायो। त्यसपछि दोस्रो हाफमा तीन गोल थप्दै एट्लेटिकोले खेल ५–२ ले आफ्नो पक्षमा पारेको हो।
इतिहासमा यो चौथो पटक हो जब एट्लेटिकोले म्याड्रिड डर्बीमा पाँच वा सोभन्दा बढी गोल गरेको छ। यसअघि नोभेम्बर १९५० मा एट्लेटिकोले रियललाई ६–३ ले पराजित गरेको थियो।
यसअघि ला लिगामा लगातार छैटौं खेलमा जित हात पारेको रियलले च्याम्पियन्स लिगको पहिलो खेलमा पनि मार्सेइलाई २–१ ले हराउँदै अपराजित यात्रा कायम राखेको थियो। तर, ला लिगामा रियलले यति धेरै गोल २०१८ मा खाएको थियो, जब बार्सिलोनाले ५–१ को जित दर्ता गरेको थियो।
खेलमा डिएगो सिमोनको टोलीका लागि सुरुवाती अग्रता रोबिन ले नर्मान्डको हेडरमार्फत आएको थियो। तर केलियन एमबाप्पे र अर्दा गुलरका उत्कृष्ट गोलले रियलले अग्रता बनाएको थियो।
तर, पहिलो हाफको इन्जुरी टाइममै एलेक्जान्डर सोरलोथले गोल गर्दै खेललाई २–२ मा ल्याए। दोस्रो हाफ निर्णायक बन्यो। पहिलो हाफमा प्रहार पोस्टमा रोकिएका जुलियन आल्भारेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। त्यसपछि उनले शानदार फ्री–किकमार्फत अर्को गोल थपे।
खेलको अन्तिम इन्जुरी टाइममा एन्टोइन ग्रिज्म्यानले पाँचौं गोल गर्दै एट्लेटिकोको ऐतिहासिक जित सुनिश्चित गरे। यससँगै सिमोनको टोली पछिल्ला ६ वटा लिग भिडन्तमा रियलविरुद्ध अपराजित रहेको छ।
यो हारसँगै रियलको शीर्ष स्थान गुम्ने सम्भावना बढेको छ। आइतबार बार्सिलोनाले आफ्नो खेलमा जित निकालेमा १ अङ्कको अग्रता बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लनेछ। एट्लेटिको भने सात खेलबाट १२ अङ्क जोडेर चौथो स्थानमा पुगेको छ। रियल १८ अङ्कका साथ शीर्ष स्थानमा कायम छ।