
- राप्ती राजमार्गमा गाडी दुर्घटनामा तीनजनाको मृत्यु हुँदा अन्य दुईजना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भैरहेको छ ।
- दुर्घटनाग्रस्त गाडी करिब ४०० मिटर तल खसेको थियो र थप अनुसन्धानका लागि दुई प्रहरी टोली खटाइएको छ ।
- मृतक र घाइते सबै जना रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका हुन्, जसको पहिचान प्रहरीले सार्वजनिक गरेको छ ।
दाङ- राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आइतवार बिहान भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृतकको पहिचान खुलिसकेको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–५ बस्ने २५ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पबी केसी र २७ वर्षीय शशीधर केसी रहेका छन् ।
दुर्घटनामा सोही गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आज बिहानै बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आइतवार बिहान करिब ४ बजे सडकबाट करीब ४०० मिटर तल खसेको थियो ।
घटनापछि प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपालबहादुर वलीको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली खटिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको नेतृत्वमा थप ९ जनाको टोली परिचालित भएको हो ।
दुर्घटनास्थल कपुरकोट प्रहरी चौकीदेखि करिब ६ किलोमिटर दक्षिणतर्फ र लुहाम इलाका प्रहरी कार्यालयदेखि करिब २६ किलोमिटर पूर्वतर्फ पर्छ ।