
- जेन जी युवाहरूको आन्दोलनले केपी ओलीको सरकार अपदस्थ गर्दै नयाँ सरकारले गठन गर्दा ७४ जनाको शहादत भएको छ।
- कार्यक्रममा दलित समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रमा पहल गर्ने छलफल भयो।
- कतारमा हुने विश्व शिखर सम्मेलनमा दलित र पिछडिएका समुदायका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न जोडदार माग उठाइयो।
जेन जी युवाहरूको आन्दोलनबाट प्राप्त उपलब्धी र आगामी कार्यभार विषयक अन्तरसंवाद भएको छ।
शनिवार राजधानीमा जेन जी युवाहरूको नेतृत्वमा नेपो बेविज, सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिवन्ध र भ्रष्ट्राचारका विरुद्धका भएको आन्दोलनले केपी ओलीको सरकार अपदस्थ,अकल्पनीय रूपमा धनजनको क्षति, सयौं घाईते र करिब ७४ जनाको शहादत भएको छ र जेनजीहरू कै मागमा आधारित भई सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकारकाे गठन बारे संवाद भएकाे हाे।
दलित नागरिक समाज नेपालको आयोजना र जनउत्थान सामुदायिक लघुवित्तिय संस्था लिमिटेडको सहकार्यमा जेनजी युवाहरू,दलित नागरिक समाजका बुद्धिजीविहरू, मानवअधिकारकर्मी साथै प्राज्ञ व्यक्तिहरु गरी करिब ४० जनाको सहभागीता रहेको थियो। कार्यक्रममा दलित तथा सीमान्तकृत समुदायले अहिलेको नागरिक सरकारमा अर्थपुर्ण सहभागीताको मुद्दा, आगामी फाल्गुन २१ मा हुने निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चत कसरी गर्ने र जनसंख्याको आधारमा निश्चित निर्वाचन क्षेत्र तोकी प्रत्यक्षमा साथै समानुपातिक सूचिमा समेत दलित समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी पहल गर्ने छलफल भएको छ।
कार्यक्रममा देशलाई अपुरणीय क्षति भएको सन्दर्भमा बैंक तथा वित्तिय संस्थाहरूको समेत प्रभावकारी भूमिका एवं सहकार्य हुनु पर्ने सहभागीहरूले बताए।
कार्यक्रममा नोभेम्भर ४ देखि ६ सम्म कतारको दोहामा हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा नेपालका दलित तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका सवाल र मुद्दाहरूलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने समेत जोडदार रुपमा उठेको थियो। कार्यक्रमको संचरना तथा विषयवस्तुबारे मानवअधिकारकर्मी कर्णबहादुर नेपालीले र दोश्रो विश्व शिखर सम्मेलनका सम्बन्धमा पुर्व सचिव डा. मानबहादुर विकेले स्पष्ट पारेका थिए।
कार्यक्रममा जेनजी युवालगायतका सहभागीले ३ देखि ५ मिनेट समय लिई अभिमत प्रकट गरेका थिए। कार्यक्रमको अध्यक्षता दलित नागरिक समाजका अध्यक्ष श्री मोतिलाल नेपालीले र संचालन केशर आउजीले गरेका थिए।