
- भदौ जेनजी आन्दोलका क्रममा भएको क्षति कारण हिल्टन होटलमा अर्बौँ मूल्यबराबरको अपूरणीय क्षति भएको छ।
- अर्थमन्त्री खनालले होटल पुनः सञ्चालनका लागि सरकारी सहयोग र समन्वयको प्रतिवद्धता व्यक्त गरेका छन्।
- होटलले पुनर्निर्माण र सञ्चालनमा सहयोग पुर्याउन नेपाल सरकारलगायत सम्बन्धित निकायसँग अपील गरेको छ।
काठमाडौँ – भदौ २३ र २४ गते जेनजी आन्दोलका क्रममा भएको तोडफोड, चोरी र आगजनीका कारण हिल्टन होटलमा अर्बौँ मूल्यबराबरको अपूरणीय क्षति भएको छ। अर्थमन्त्री रामेश्वर खनालले क्षतिग्रस्त बनेको हिल्टन होटल, काठमाडौंको स्थलगत निरीक्षण गरी होटल पुनः सञ्चालनमा ल्याउन सरकारले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन्।
उक्त घटनामा शंकर ग्रुप अन्तर्गतको हिल्टन होटल मात्र नभई, समग्र लगानी वातावरण, पर्यटन क्षेत्र, औद्योगिक पूर्वाधार र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि समेत गम्भीर असर पारेको छ।
सन् २०२४ देखि निरन्तर सञ्चालनमा रहँदै आएको यस होटलले राज्यलाई कर, भन्सार, शुल्कलगायतका राजस्व नियमित रूपमा बुझाउँदै आएको थियो। तर पछिल्लो घटनापछि होटल सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको र पुनर्निर्माणका लागि ठूलो मात्रामा संरचनागत तथा आर्थिक लगानी आवश्यक परेको छ।
होटलले नेपाल सरकार र सम्बन्धित निकायसँग होटलको पुननिर्माणमा आवश्यक सहयोग गरी सञ्चालनमा ल्याउन मद्दत गर्नका लागि अपील गरेको छ।
राज्यले होटल पुनर्निर्माण खर्च र व्यावसायिक घाटालाई ध्यानमा राखी कर तथा राजस्वमा सहुलियत दिएर, पुनर्निर्माणमा सहयोग पुर्याउन पनि माग गरिएको छ।
बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको ब्याज र अन्य दायित्वमा अस्थायी मिनाहा वा सहुलियत प्रदान गर्ने मात्र गरेर यस्ता घटनाबाट अहिले राज्यको दायित्व पन्छाउन नमिल्ने कुरा उक्त माग पत्रमा उल्लेख छ।
पुनर्निर्माणको पहिलो कार्य, फोहोर व्यवस्थापन र सरसफाइ भएकोले, सो कार्य गर्न महानगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउनु पर्ने पनि माग राखिएको छ।