
- भारतले नौँ पटक एसियाकप क्रिकेटको उपाधि जिते पनि ट्रफी नलिई विजयी उत्सव मनायो।
- भारतीय क्रिकेट टोलीले पाकिस्तानी अधिकारीबाट ट्रफी नलिने निर्णय गर्दै ट्रफी बिना नै उत्सव मनाएको छ।
- भारतले पाकिस्तानलाई १४७ रनको लक्ष्य पछ्याउँदै २ बल बाँकी हुँदा जित हासिल गरेको छ।
भारतले नवौँ पटक एसियाकप क्रिकेटको उपाधि जितेको छ। पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै भारत विजेता बनेको हो। तर जितपछि भारतीय टोलीले ट्रफी नउठाईकनै खुसी मनायो।
भारतले ट्रफी लिन अस्वीकार गर्ने निर्णय पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नकवी नै एशियन क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष भएको कारण देखाउँदै गरेको बताइएको छ। नकवीले भारतीय टोलीले आफ्नै हातबाट ट्रफी लिन अस्वीकार गरेपछि भारतीय अफिसियलहरूको हातबाट पनि ट्रफी हस्तान्तरण गर्न दिएनन्। त्यसपछि उनले ट्रफी मैदान बाहिर पठाए।
भारतीय खेलाडीहरूले भने ट्रफी बिना नै उत्सव मनाए। उनीहरूले खाली हातलाई ट्रफी उठाएजस्तो शैलीमा सेलिब्रेशन गरेका थिए। भारतीय कप्तान सूर्यकुमार यादवले आफूले क्रिकेट खेलेदेखि यस्तो परिस्थितिको पहिलो पटक सामना गरेको बताउँदै, धेरै मिहिनेत गरेर जितेको उपाधि ट्रफी बिना नै मनाउनुपरेको बताएका छन्। उनले ड्रेसिङ रुममा खेलाडीहरूको एकता र मेहनतलाई नै ट्रफी बराबर ठानेका छन्।
बीसीसीआइका सचिव देवजीत सैकियाले एएनआईसँगको कुराकानीमा भारतीय टोलीले पाकिस्तानी अधिकारीको हातबाट ट्रफी वा पदक नलिने निर्णय अघि नै गरिसकेको स्पष्ट पारे। उनका अनुसार, “यसको अर्थ यो होइन कि नकवी ट्रफी वा पदक पाकिस्तान लैजान सक्छन्। आगामी नोभेम्बरमा आईसीसी सम्मेलनमा हामी यसबारे कडा आपत्ति जनाउनेछौँ। हाम्रो ट्रफी छिट्टै फिर्ता आउनेछ भन्ने विश्वास छ।”
पहलगाममा भएको आतंकवादी आक्रमण र ‘अपरेशन सिंदूर’ पछि भारतमा पाकिस्तानसँग खेल्नु नहुने भन्दै आवाज उठेको थियो। तर भारतीय खेलाडीहरूले खेल बहिष्कार नगरी प्रतियोगिता खेले पनि सम्पूर्ण टुर्नामेन्टमा पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने निर्णयमा अडिग रहे। टुर्नामेन्ट सुरु हुनुअघि नै भारतले विजेता भए पनि कुनै पाकिस्तानी अधिकारीबाट ट्रफी नलिने निर्णय गरेको थियो।
यसैबीच, पाकिस्तानी कप्तान सलमान अली आगाले भारतीय टोलीले क्रिकेटकै अपमान गरेको टिप्पणी गरेका छन्। उनले भने, “हाम्रोसँग हात नमिलाउनु मात्रै होइन, एसीसी अध्यक्षबाट ट्रफी नलिनुले भारतले क्रिकेटमै राजनीति घुसाएको प्रस्ट देखाउँछ।”
अन्तिम ओभरमा भारत विजयी
रोमाञ्चक खेलमा आइतबार राति भारतले १४७ रनको लक्ष्य २ बल बाँकी हुँदा पूरा गरेको थियो। रिंकु सिंहले चौका प्रहार गर्दै टोलीलाई जिताए। भारतको जितमा तिलक वर्मा ६९ रन बनाउँदै नटआउट रहेर नायक बने। उनी ‘प्लेयर अफ द फाइनल’ पनि घोषित भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ५ बल बाँकी रहँदा १४६ रनमा अलआउट भएको थियो। राम्रो सुरुवात गरे पनि मध्य र पछिल्लो क्रममा विकेटको पतनले पाकिस्तानलाई उच्च स्कोर बनाउन दिएन।
भारतका लागि कुलदीप यादवले ४ विकेट लिएका थिए भने पाकिस्तानतर्फ साहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाएका थिए।