
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिक पार्टीहरू नसुध्रिने हो भने नेपालमा अझै दुर्दिनहरू आउने बताएका छन्।
सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको र राजनीतिक पार्टीहरू सुध्रनुपर्ने धारण राखेका हुन्।
‘राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका दुर्दिनहरु अझै बाँकी छन्। लामो समयदेखि मुलुक दुर्घटनातर्फ जाँदैछ’ उनले भने।
राजनीतिक पार्टीहरूका कारण, तिनका नीति र नेताहरूको कारणले राजनीति दुर्घटनातिर गएको भुसालको भनाइ छ। जेन–जी आन्दोलनबाट भएका घटनाहरू आफ्ना लागि नयाँ नभएको उनले बताए।
यस्तै भुसालले अर्थतन्त्र केही विचौलियाहरूको घरानामा मात्रै सिमित रहेको पनि बताएका छन्। राजनीतिक पार्टीहरूमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरु संकट थपिने स्थिति रहेको धारणा राखे।