
उदयपुर (गाईघाट)- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाडौँलगायत तराईका विभिन्न भाग भएर उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ ।
गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा पुल नहुँदा दसैँको समयमा सिद्धिचरण मार्ग हुँदै ओखलढुङ्गाको लामो यात्रा गरेर खोटाङ जानुपर्ने बाध्यता रहेको छ ।
यहाँ निर्माण गरिएको पक्की पुल गत वर्ष असोजमा आएको बाढीले भत्काएको थियो । त्यसको आठ महिनाअघि जडान गरिएको बेलिबृजसमेत खोलिएपछि दसैँको समयमा पहाडी क्षेत्र खोटाङ जाने यात्रुले महँगो भाडा तिरेर लामो घुम्ती सडकमार्ग भएर जानुपर्ने बाध्यता रहेको यात्रुहरू गुनासो गरेका छन् ।
हाल सिद्धिचरण मार्गअन्तर्गत ओखलढुङ्गा भएर वा सुनसरीको धरानस्थित धनकुटा, भोजपुर घोडेटार भएर टेम्के मैयुङ हुँदै खोटाङ पुग्न बाध्य हुन परेको छ ।