
काठमाडौँ– शिक्षा आर्जन होस् वा रोजगारीका लागि देशको राजधानी काठमाडौँमा बस्ने धेरै नागरिकहरू बडादशैंको समयमा काठमाडौँ छाडेर जन्मथलो पुग्ने गर्छन्।
जसका कारण दशैंको फूलपाती भित्र्याउँदासम्म काठमाडौँ लगभग सुनसान बनेको हुन्छ। यस वर्ष पनि काठमाडौँ सुनसान भइसकेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार घटस्थापनादेखि आजबिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ छाडिसकेका छन्।
काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने– ‘यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन्। ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ।’
साथै दशैंको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन्।