
- माडागास्करमा युवाहरुको आन्दोलनमा २२ जनाको मृत्यु भएपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरे।
- आन्दोलनमा हिंसात्मक प्रदर्शनले राजधानीदेखि आठ सहरसम्म फैलिएको र प्रदर्शनमा प्रहरीको अश्रुग्यास तथा रबरका गोली प्रहार भएको जनाइएको छ।
- राष्ट्रसंघले २२ मृत्यु र सयभन्दा बढी घाइते भएको बताए पनि माडागास्करको परराष्ट्र मन्त्रालयले यसलाई अफवाह भनेको छ।
अफ्रिकी मुलुक माडागास्करमा युवा आन्दोलन पछि सरकार विघटन भएको छ। युवाहरुले लामो समय देखी पानी र बिजुली कटौती विरुद्ध सडकमा उत्रिंदा २२ जनाको ज्यान गएपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका छन्।
बिगत तीन दिनदेखि युवाहरुले माडागास्करका विभिन्न भागमा बिजुली र पानीको अभावका कारण आन्दोलन सुरु गरेका थिए। जुन आन्दोलन हिंसात्मक बनेपछि व्यापक प्रदर्शन भएको थियो। जसका कारण राष्ट्रपतिले आफ्नो सरकार भंग गरेका थिए।
आन्दोलनको क्रममा २२ जनाको मृत्यु र एक सय जना भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। रोयटर्सका अनुसार केन्या र नेपालमा भएको जेनजी पुस्ताको आन्दोलनबाट प्रेरित भएर त्यहाँ आन्दोलन भएको जनाइएको छ। त्यहाँ पछिल्ला वर्षमा देखिएको यो आन्दोलन सबैभन्दा ठूलो मानिएको छ।
‘यदि सरकारका सदस्यहरूले आफ्ना तोकिएका जिम्मेवारी पूरा गर्न सकेका छैनन् भने हामी त्यसलाई स्वीकार्छौं र माफी माग्छौं,’ राष्ट्रपति रजोएलिनाले राष्ट्रिय टेलिभिजन माडागास्करमार्फत दिएको सम्बोधनमा भनेका छन्।
राष्ट्रपतिले युवाहरूसँग संवादको लागि ठाउँ बनाउन चाहेको बताउँदै, लुटपाटबाट प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने उपायहरू अपनाउने वाचा गरे। उनले भने ‘म क्रोध, पीडा र विद्युत् कटौती तथा पानी आपूर्तिका समस्याले ल्याएको कठिनाइलाई बुझ्छु। मैले आवाज सुनेँ, पीडा महसुस गरें, र दैनिक जीवनमा परेको प्रभावलाई बुझें,’ उनले भने।
राष्ट्रसंघले प्रस्तुत गरेको विवरणलाई त्यहाँको परराष्ट्र मन्त्रालयले अस्वीकार गरेको छ। राष्ट्रसंघले प्रस्तुत गरेको विवरण अफवाह र भ्रमका आधारमा निकालिएको मन्त्रालयको भनाइ छ। प्रदर्शन सुरूमा राजधानी आन्तानानारिभोमा भएको थियो। पछि आठ वटा सहरमा फैलिएको जनाइएको छ।
सोमबार राजधानीको विश्विवद्यालय अगाडि प्रदर्शन भएको र त्यो प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि हिंसा भड्कीएको जनाइएक छ। त्यसपछि कर्फ्यू आदेश समेत जारी गरी स्थितिलाई नियन्त्रणमा लिन रबरका गोली समेत प्रहार गरिएको जनाइएको छ।
त्यहाँका सुपरमार्केट, इलेक्ट्रोनिक्स पसल तथा बैंकहरूमा लुटपाट भएका छन्। यस्तै केही नेताहरूको घरमा समेत आक्रमण भएको जनाइएको छ।