
- दसैँ पर्वमा पहिला जताततै लिङ्गेपिङ बनाइन्थ्यो, तर अहिले गाउँका डाँडा र चौतारा सुनसान बनेका छन्।
- युवा पुस्ताले आधुनिक कला संस्कृतिलाई अगाल्न थालेपछि लिङ्गे पिङ बनाउने परम्परा हराउँदै गएको छ।
- दसैँको मौलिकता हराउँदै जाँदा गाउँमा पिङ खेल्ने प्रचलन लगभग लोप हुने अवस्थामा पुगेको छ।
ढोरपाटन (बागलुङ) – दसैँ पर्वसँग लिङ्गेपिङको नजिकको साइनो छ। पहिले पहिले दसैँका बेला गाउँ, सहर जताततै लिङ्गेपिङ बनाइन्थ्यो। अझ गाउँकाडाँडा र चौतारामा त झन् एकै ठाउँमा धेरै पिङ हुन्थ्ये। तर पछिल्लो समय गाउँमा एउटा पनि लिङ्गेपिङ भेट्याउन मुस्किल पर्छ। बाँसका बाला र बाबियोको लठारो बाटेर बनाइएको पिङमा बालबालिकादेखि वृद्धवृद्धासम्म मच्चीमच्ची खेल्ने पिङ नहुँदा दसैँ अल्ली खल्लो जस्तो हुन थालेको बुढापाका बताउँछन्।
चौतारामा बनेका पिङ वर्षौँदेखि छुटिएका गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा हुने माध्यम बन्थ्यो। अहिले ती डाँडा र चौतारा सुनसान छन्। पहिले पिङका बला गाडेका डोब पनि पुरिइसकेका छन्। अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छाडेको छ। कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन्।
गाउँमा पिङका लागि लठारो बाट्ने सीप भएका पनि भेटिदैनन्। दसैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ कहीँ कतै नबन्दा दसैँको रौनक नै कम छ। गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि दसैँमा पिङ बनाइन छाडेको गलकोट नगरपालिका–८ का तिलबहादुर खत्रीले बताए।
दुई वर्ष अगाडिसम्म गाउँको विभिन्न ठाउँमा पाँच वटासम्म लिङ्गे पिङ बनाउने गरेकामा अहिले एउटा पनि नभएको उनको भनाइ छ। युवा पुस्ताले आधुनिक कला संस्कृतिलाई अगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको भन्दैपिङ हाल्ने परम्परा हटेको उनी बताउँछन्।
“दसैँमा कहीँकतै पनि पिङ भेटिदैनन्, पहिले हाम्रो पालामा जताततै पिङैपिङ हुन्थे, पिङले दसैँको गरिमालाई बढाउने गथ्र्यो, हाम्रो पालामा गाउँका कुनै पनि डाँडा र चौतारा खाली हुँदैन्थे, दसैँ आउनभन्दा १५ दिन अगाडि नै पिङ बनाइसक्थ्यौँ, तर अहिले दसैँका दिनसम्म पनि कहीँ पिङ बनाएका छैनन्, हाम्रो उमेर गयो, बला लिएर पिङ हाल्नसक्ने अवस्था छैन, तर युवाले चासो दिएनन्।”
वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहेको हुँदा दसैँमा पिङ खेल्ने प्रचलन गरेको बडिगाड गाउँपालका–१ का कृष्ण थापाले बताए। बाउबाजेको पालादेखि दसैँमा चर्के पिङ र लिङ्गे पिङ हालेर खेल्ने गरे पनि ती वर्षदेखि आफूले गाउँमा पिङ नदेखेको उनले सुनाए। मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको थापाले बताए।
दसैँ आउनुभन्दा एक साता पहिले नै गाउँमाथिको डाँडामा मान्छे जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लठारो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको उनले सुनाए। थापाले भने, “पहिले–पहिले पिङ हाल्ने ती ठाउँमा अहिले झाडी पलाएको छ, डाँडा र चौतारा पनि सुनसान छन्, गाउँमा युवाहरु पनि छैनन्, मेला महोत्सव लाग्यो भने बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो, हामीले बनाउन सक्दैनौँ नयाँले चासो दिँदैनन्।”
दशक अगाडिसम्म गाउँका अधिकांश स्थानीयले लेकमा गएर बला लिएर पिङ बनाउने गरेको तर, पछिल्लो समय उक्त संस्कृति हराएको निसीखोला गाउँपालिका–४ का जङ्गबहादुर सुनारले बताए। पहिले दसैँका बेला चर्खे पिङसमेत हाल्ने गरेको भन्दै अहिले कतै नभेटिने उनको भनाइ छ।