
- हुम्लाका चार गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनमा तीन हजार २६३ जनाले सहभागिता जनाएका छन्।
- अभियानमा सहभागी असी प्रतिशत ज्येष्ठ नागरिक हुँदा सामाजिक सुरक्षा भत्ताको समस्याको समाधान हुने बताइएको छ।
- विवरण सङ्कलनमा नाम्खा, अदानचुली, खार्पुनाथ, र सिमकोट गाउँपालिकामा स्थान विशेषमा टोली परिचालन गरिएको थियो।
हुम्ला – वडा स्तरमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने अभियानमा बत्तीस सय बढीले आफ्नो विवरण प्रबिष्ट गराएका छन्। विशेष अभियानका रुपमा सञ्चालन गरिएको सो कार्यमा चार वटा गाउँपालिकाका स्थानीयले उक्त विवरण प्रबिष्ट गराएका हुन्।
दुई हप्तामा चार वटा गाउँपालिकाका वडा स्तरमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्रका लागि विवरण प्रबिष्ट गराउने कार्यमा तीन हजार २६३ जना सहभागी भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए। गत भदौ ३० गतेबाट सो कार्य सुरु भएको थियो। विशेष गरी सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीका लागि उक्त कार्य वडा स्तरमा सञ्चालन गरिएको थियो।
पछिल्लो पटक गरिएको यो कार्यमा राष्ट्रिय परिचयपत्र निर्माणका लागि आफ्नो विवरण प्रबिष्ट गराउनेमा असी प्रतिशत ज्येष्ठ नागरिक रहेको बताउदै उनले बाँकी अपाङ्गता भएकाहरुको विवरण लिने कार्य भएको बताए। अभियानमा उत्साहपुर्वक राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवाग्राहीको सहभागिता रहेको बताउदै उनले अब ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताको समस्या पनि समाधान हुने जानकारी दिए। अभियानमा नाम्खा गाउँपालिकामा चार स्थानमा सञ्चालन गरिएको र जसमा एक हजार १५२ जनाले आफ्नो विवरण प्रबिष्ट गराउन सफल भएका छन्।
त्यसैगरि अदानचुली गाउँपालिकाका चार स्थानमा सञ्चालन गरिएकोमा ७१८ जनाले आफ्नो विवरण प्रबिष्ट गरेका छन्। त्यसैगरि खार्पुनाथमा ८८५ जना र सिमकोट गाउँपालिकाको दुई स्थानमा अभियान सञ्चालन गर्दा ५०८ जनाले आफ्नो विवरण प्रबिष्ट गरेका छन् यो अभियान सञ्चालन गर्नका लागि गृहमन्त्रालयबाट आएको छ सदस्यीय टोलीलाई तीन समुहमा बिभाजन गरी चार वटै गाउँपालिकाका वडा स्तरमा खटनपटन गरिएको थियो।
यो अभियान सञ्चालन नगरेको भए यसवर्ष धेरै ज्येष्ठ नागरिक आफ्नो सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था थियो। राष्ट्रिय परिचयपत्र बनाउनका लागि भर्नुपर्ने विवरण गाउँपालिकाका वडास्तरमा टोली खटिएपछि धेरै सहज भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । यसका लागि टोलीलाई गाउँपालिकाले राम्रो समन्वयसमेत गरेको थियो। यसरी राष्ट्रिय परिचयपत्रका लागि ९७ वर्षसम्मका ज्येष्ठ नागरिकले आफ्नो विवरण प्रबिष्ट गराएका हुन्।