
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दशैंको फुर्सदका समयमा आफ्ना गाउँको यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन्।
वर्षौंदेखि रङरोगन नभएका र जीर्ण अवस्थाका प्रतीक्षालयमा रङ लगाउने र मर्मत गर्ने कार्य गरिरहेका छन्। स्थानीय युवा जेनल विष्टकाअनुसार दशैंअघि वन समिति र झलारीको नयाँ यात्रु पतीक्षालय रङरोगन गरिएको छ।
यस कार्यलाई दशैंपछि पनि निरन्तरता दिने योजना रहेको विष्टले बताए। दशैंकाबेला साथीभाइसँग रमाइलो गर्नेभन्दा समाजका लागि सिर्जनशील कार्य गर्नुपर्छ भनेर यस कार्य गरिएको उनको भनाइ छ।
स्थानीय व्यवसायीबाट रङ र आर्थिक सहयोग जुटाइ उनीहरू प्रतीक्षालयमा रङरोगन गर्न कार्यमा जुटेका हुन्। विष्टले नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेका सबै प्रतीक्षालय रङरोगन र मर्मत गर्ने योजना सुनाए।
यस अभियानमा व्यवसायी र स्थानीय वन समितिले पनि साथ दिएका छन्। युवाहरुले प्रतीक्षालय मात्र नभई बजार, धार्मिक तथा विद्यालयलगायत क्षेत्रमा पनि सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउँदै आएका छन्।