
- अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सरकारको बुद्धि नपुग्दा जेनजी युवाहरूको ज्यान गएको बताउँदै शहीद परिवारलाई सहायता गर्ने प्रतिवद्धता जनाइन्।
- प्रशिक्षण तथा रोजगार सुनिश्चित गर्ने विषयमा सोचिरहेको बताउँदै, उनीहरूले मागेकै केही नभएको कार्कीले उल्लेख गरिन्।
- अभियन्ताहरूको रगतले न्याय पाउने र उनीहरूको रगतको अपमान हुन नदिने कुरा संचारमन्त्री खरेलले बताए।
काठमाडौँ- अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताहरूको ज्यान गएको बताएकी छन् ।
विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको बताइन् ।
राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिवद्धता जनाइन्। उनले भनिन्, ‘दुःखद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारणयो दुर्घटना भयो । बच्चाहरुले पढ्ने कसरी ? उहाँहरुको पढाइ, कामहरु दिनेगरी सोचिरहेका छौँ । उहाँहरुले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।’
प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मृतक तथा शहीद परिवारलाई प्रधानमन्त्रीको चाहनाअनुसार शहीद परिवारसँग समय बिताएको बताए । शहीदहरूको रगतमाथि अन्याय हुन नदिने र शहीदहरूको रगतले न्याय पाउने उनले बताए।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गइसकेको छ । साथै सयौँ मानिस घाइते भएका छन् ।