
काठमाडौँ- आज दसैँ टीकाको तेस्रो दिन तथा आश्विनशुक्ल द्वादशी हो। यस दिन पनि मान्यजनका हातबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी छ।
घटस्थापनाका दिनदेखि सुरु भई नवरात्रभरि पूजा आराधना गरेपछि विजयादशमीका दिन देवी विसर्जन गरेर प्रसाद लगाउने र आशीर्वाद लिने यो क्रम कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ।
पहिलो दिन (विजयादशमीमा) मान्यजनकहाँ पुग्न नसकेका व्यक्तिहरूले पूर्णिमाको दिनसम्म पनि टीका लगाएर आशीर्वाद लिन सक्छन्।
यद्यपि, पश्चिम नेपालका केही जिल्लाहरूमा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउनु शास्त्रसम्मत नै मानिन्छ।