
- सरकारले अत्याधिक वर्षा, बाढी, पहिरोको जोखिमका कारण दसैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ।
- सुरक्षाका लागि पिउने पानी, खानेकुरा, शौचालय भएको र जोखिम नभएको ठाउँमा गाडी रोक्न आग्रह गरिएको छ।
- सम्भावित जोखिम कम हुनासाथ सुरक्षित रूपमा यात्रा पुनः सुरु गराउने तयारी भइरहेको छ।
काठमाडौँ- सरकारले परिस्थितिवश दसैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ ।
शनिवारदेखि सोमवारसम्म देशभर अत्याधिक वर्षा हुने र वर्षापछि बाढी, पहिरोको जोखिम रहने भएकाले सुरक्षित ठाउँमा बस्न र यात्रा नगरिदिन आग्रह गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले दसैँको बीचमा यातायात बन्द गर्नुपर्दा दुःख लागे पनि नागरिकको सुरक्षाका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
स्थानीय प्रशासनलाई यात्राका क्रममा रहेका सवारीसाधनहरू सुरक्षित स्थानमा रोक्न लगाउन निर्देशन गरिसकेको बताए। पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न आग्रह गरिएको उनले बताए ।
सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने तयारी रहेको उनको भनाइ छ।
उनले भने, ‘दसैँको बीचमा यातायात बन्द गर्न पर्दा हामीलाई पन दुःख लागेको छ । तर अत्यावश्यक परिस्थितिका कारण यो गरिएको हो । सँगै स्थानीय प्रशासनलाई यसरी गाडी रोक्नुपरेको परिस्थिति आएको बेला सुरक्षित ठाउँमा गाडी रोक्नुहोस् । सकेसम्म पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न लगाउने, सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने भनेर तयारी भएको छ । यसलाई स्थानीय प्रशासनले हेरिरहेको छ ।’
उनले विपी राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभूवन राजमार्गमा सुरक्षार्थ सुरक्षाकर्मीहरू धेरै खटाएको बताए।