
काठमाडौं- काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका ३ सय ९३ जनालाई सुरक्षित स्थानमा सारेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका ३ सय ९३ जनालाई चारवटा विद्यालयमा सारिएको जानकारी दिए।
विश्व निकेतन मावि त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माविमा ५२ जना, जन विकास मावि कुलेश्वरमा ५२ परिवारका २ सय ५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा २० जनालाई राखिएको जानकारी उनले दिए।
महानगरको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) को व्यवस्था गर्न सकिने जनाएको छ । उद्धार गरिएकाहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ। महानगरले कुनै समस्या परेमा १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ।