
काठमाडौँ- सभामुख देवराज घिमिरेले असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्याएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्।
उनले सरकारका तर्फबाट उद्धार तथा पुनर्स्थापनाका लागि सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली र स्वयंसेवकलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै प्रभावित नागरिकलाई राहत पुर्याउन ध्यानाकर्षण गराएका छन्।
“यस चुनौतीपूर्ण घडीमा हामी सबै एकजुट भएर अघि बढ्ने हो भनेमात्र विपदलाई पार गर्न सक्छौं,” विज्ञप्तिमा भनिएको छ। सभामुख घिमिरेले उद्धार तथा राहतमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै नागरिकमा अपिल गरेका छन्।