
- झापाको दमक–३ मा रहेको भ्युटावरमा आगजनी र तोडफोड हुँदा साढे २५ करोड बराबरको क्षति भएको छ।
- भ्युटावर उद्घाटनपछि दुई महिनामै बन्द गरिएको छ, जसको निर्माण पूर्वप्रधानमन्त्री केपी ओलीले गरेका थिए।
- खुला भएको समयदेखि भ्युटावरले अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको थियो।
काठमाडाैँ – जेनजी आन्दोलनका क्रममा झापाको दमक– ३ स्थित भ्युटावरमा आगजनी र तोडफोड हुँदा साढे २५ करोड रुपैयाँ बराबरको क्षति भएको सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङले जानकारी दिएका छन्।
एक अर्ब ६४ करोड रुपैयाँ खर्चेर बनाएको भ्युटावर सञ्चालनमा आएको दुई महिनामै तोडफोड भएपछि अहिले बन्द गरिएको छ।
२३ मंसिर २०८१ मा पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको भ्युटावर १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो। व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो ।
१८ तले भ्यु टावरको सबै सिसा फुटेकाे , भ्यु टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको थियो। जान सक्ने अवस्था पनि नभएको भ्यु टावरको भित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्रचाहिँ आगो लाग्न पाएन ।
सर्वसाधारणका लागि साउनदेखि खुला गरिएको भ्युटावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको, पहिलो एक महिनामा ६ हजार ७सय १३ जनाले भ्यु टावर चढेर दृश्यावलोकन गरेका थिए भने २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको थियो , सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यु टावरको दृश्यावलोकन गरेका थिए।
तस्बिरः नेपाल फोटो लाइब्रेरी