
- बिहारमा करिब ४० वर्षपछि आगामी ६ र ११ नोभेम्बरमा दुई चरणमा विधानसभा निर्वाचन हुने भएको छ।
- पहिलो चरणको मतदान उत्तर बिहारका तिरहुत, मिथिलाञ्चल र कोसी लगायत क्षेत्रहरूमा, दोस्रो मगध र शाहाबादमा हुनेछ।
- गएको निर्वाचनमा १२१ सिटमध्ये ५९ सिटमा विजयी एनडीएको बलियो पकड कायम रहने अनुमान गरिएको छ।
बिहार विधानसभा निर्वाचन आगामी ६ र ११ नोभेम्बरमा दुई चरणमा सम्पन्न हुने भएको छ।
करिब ४० वर्षपछि बिहारमा दुई चरणमा निर्वाचन हुन लागेको हो। सोमबार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले पहिलो चरणमा १२१ सिट र दोस्रो चरणमा १२२ सिटका लागि मतदान हुने जानकारी दिए।
दुई चरणको निर्वाचन सम्पन्न भएपछि सरकार कसको बन्ने भन्ने टुंगो भने १४ नोभेम्बरमा हुने मतगणना पछि लाग्नेछ। आचारसंहिता लागु भइसकेकाले पहिलो चरणको निर्वाचनसम्म करिब एक महिना समय बाँकी छ।
यसपटक पहिलो चरणको मतदान उत्तर बिहारका तिरहुत, मिथिलाञ्चल, कोसीलगायत क्षेत्रहरूमा हुने छ। दोस्रो चरणको निर्वाचन भने मगध र शाहाबाद क्षेत्रमा हुनेछ। अघिल्ला निर्वाचनमा भने यी क्षेत्रमा पहिलो चरणमै मतदान हुने परम्परा थियो।
पहिलो चरणमा दरभंगा, मधेपुरा, सहरसा, खगडिया, गोपालगञ्ज, मुंगेर र नालन्दा लगायतका जिल्लामा मतदान हुनेछ। यी क्षेत्रलाई सत्तारूढ एनडीए गठबन्धनको बलियो आधार मानिन्छ। २०२० को विधानसभामा १२१ सिटमध्ये ५९ सिटमा एनडीए विजयी भएको थियो। यसपटक उनीहरूको पकड अझ मजबुत भएको अनुमान गरिएको छ।
दोस्रो चरणको निर्वाचन हुने क्षेत्रहरू भने तुलनात्मक रूपमा महागठबन्धनको प्रभाव क्षेत्र मानिन्छन्। नेपालसँग सिमाना जोडिएका अधिकांश क्षेत्रमा पनि दोस्रो चरणमै मतदान हुने कार्यक्रम छ।