
- अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोक जिल्लाका चार स्थानीय तहमा सडक र विद्युत् सेवा अवरुद्ध भएका छन्।
- खानीखोला र महाभारत गाउँपालिकामा अवरुद्ध भएका सडक खुलाउन हप्ता दिन लाग्न सक्ने बताइएको छ।
- बेथानचोक गाउँपालिकामा जनप्रतिनिधिहरू सक्रिय भई अवरुद्ध सडकलाई प्राथमिकता दिँदै मेसिनको प्रयोग भइरहेको छ।
काभ्रेपलाञ्चोक- गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछि आएको बाढीपहिरोले जिल्लाका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा पनि ठप्प भएको छ भने सडक अबरुद्ध भएकाले आवतजावतमा केही दिन पर्खनुपर्ने बाध्यता रहेको बताइएको छ ।
जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका हुन् । केही गाउँपालिकाले सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउने कार्य सुरु गरेका छन् ।
बाढीपहिरोले विशेषगरी अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाँडापारी) का दुई गाउँपालिका जाने सडक पूर्णरूपमा बन्द भएको छ । खानीखोला र महाभारत गाउँपालिका जाने सडक खुल्न हप्ता दिन लाग्ने जनप्रतिनिधिहरूले बताएका छन् ।
महाभारत गाउँपालिकामा सडक, विद्युत् र सञ्चार सेवा पूर्णरूपमा विच्छेद भएको छ । सडक अवरुद्ध भएकाले त्यहाँ जाने कुनै विकल्पिक बाटो नभएको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार गाउँपालिका कार्यालय जाने मुख्य सडकसहित विभिन्न वडामा जाने सबै सडक अवरुद्ध भएका छन् । “यी सबै सडक बनाउन हप्ता दिनभन्दा बढी लाग्न सक्छ, विद्युत् सेवा पनि अवरुद्ध भएकाले दुवै सेवा कसरी सञ्चालन गर्ने भन्ने तत्काल योजना बनाइरहेका छौँ,” उनले भने । उनका अनुसार बिपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाँडाखर्क र पिप्ले–भीमखोरी खण्डका सडक सबै अवरुद्ध भएका छन् ।
यस्तै, डाँडापारी अवस्थित खानीखोला गाउँपालिका जाने सबै सडक अवरुद्ध भएकाले सडक खुलाउन केही समय लाग्ने अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार सोमबारदेखि मेसिन प्रयोग गरेर सडक खोल्ने प्रयास भइरहेको छ । “सडक अवरुद्ध भएकाले इन्धन व्यवस्थापनमा समस्या भएको छ, तर हामी प्रयास गर्दैछौँ,” उनले भने । उनले एक÷दुई दिनमै विद्युत् सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति खटाइएको बताए ।
रोशी गाउँपालिकामा पनि बिपी राजमार्गअन्तर्गत अस्थायी डाइभर्सन कटान भएकाले विभिन्न वडा जाने सडक अवरुद्ध भएका छन् । चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्रै गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिने अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार रोशीमा विद्युत् सेवा आंशिक रुपमा अबरुद्ध भएकाले तत्काल पूर्णरूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
यस्तै, बेथानचोक गाउँपालिकामा अबरुद्ध सडक खुलाउन आइतबारदेखि नै जनप्रतिनिधिहरू सक्रिय भएका छन् । अबरुद्ध मुख्य सडकलाई प्राथमिकता दिइरहेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । उनका अनुसार वडा जोड्ने अन्य सडक खुलाउन मेसिन प्रयोग भइरहेको छ ।
जिल्लामा बाढीपहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने पूर्वाधारका साथै निजी भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ ।