
- काठमाडौँका मेयर बालेन शाहले सिंहदरबार जलेको बेला दमकल नपठाएको आरोपको खण्डन गरेका छन्।
- आन्दोलनकारीको अवरोधकै कारण काठमाडौँ महानगरको दमकल सिंहदरबारमा पुग्न ढिलाइ भएको उनले जानकारी दिएका छन्।
- आगलागीको समयमा महानगरले विभिन्न सेवाहरू उपलब्ध गराउँदै समन्वयमा व्यस्त भएको उनले स्पष्ट पारेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जल्दा दमकल नपठाएको भन्ने आरोपको खण्डन गर्दै सामाजिक सञ्जालमा लामो स्पष्टीकरण लेखेका छन्।
जेनजी आन्दोलनको एक महिनापछि मंगलबार साँझ बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै काठमाडौँ महानगरपालिकाले स्रोतसाधनले भ्याएसम्म दमकल पठाएको दाबी गरेका छन्।
उनले यस्ता आरोप र प्रश्नको स्पष्टीकरण दिन आवश्यक नभए पनि गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न लेखेको दाबी पनि गरेका छन्।
सिंहदरबारमा आन्दोलनकारीको अवरोधले दमकल जान नसकेको स्पष्टीकरण पनि बालेनले दिएका छन्। ‘सिंहदरबार जलेलगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको, जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो,’ उनले लेखेका छन्।
उनले लेखेका छन्- काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन। सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके, यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौँ मान्छे समेत हिडडुल गर्न सक्ने अवस्था थिएन, तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन, रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन, जलेका गाडीहरुको व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा व्यस्त थियो।’
उनले सत्य बुझ्न, अफवाह नफैलाउन र सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाउन पनि आग्रह गरेका छन्। उनले लेखेका छन्-‘देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन।’