
- हिमपात र वर्षाका कारण हुम्लाका उच्च स्थानमा चिसो बढेको र तीन हजार पाँच सय मिटर तल पनि लगातार वर्षा भइरहेको छ ।
- हुम्लामा हिमपातले बालीनाली भित्र्याउन किसानलाई समस्या बनाएको साथै बिहानैदेखि हवाई सेवा अवरुद्ध भएको छ ।
- यस वर्षको दोस्रो हिमपातमा नाम्खा, सिमकोट, खार्पुनाथ लगायतका क्षेत्रमा तीनदेखि चार इन्च हिउँ जमेको छ ।
हुम्ला- हिमाली जिल्ला हुम्लाको उच्च भुभागमा हिमपात सुरु भएको छ । सोमबार रातीबाट जिल्लाभर वर्षा सुरु भएपछि मंगलबार बिहानबाट जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको हो ।
माथिल्लो हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएका प्रमुख जिल्ला अधिकरी टेककुमार रेग्मीले बताए । सोमबाट रातीबाट लगातार वर्षा भइरहेको र अधिकांश गाउँपालिकाका चार हजार पाँच सय मिटर उचाईका क्षेत्रमा हिमपात भइरहेको उनले बताए ।
बिशेष गरी नाम्खा गाउँपालिका न्यालु, नारा, चाला, लाप्चा क्षेत्रमा बढी हिमपात भइरहेको छ । ती क्षेत्रमा जमिनमा तीन देखि चार इन्च हिउँ जम्न सुरु भएको छ ।
त्यसैगरी सिमकोट गाउँपालिका रलिङ, पञ्चमुखी, बोक्सी हिमाल, चाङ्ला हिमाल क्षेत्रमा हिमपात भइरहेको छ । यता खार्पुनाथ गाउँपालिकाको मारघोर क्षेत्रमा पनि हिमपात भइरहेको छ ।
उच्च क्षेत्रमा हिमपात सुरु भए पनि चिसो पनि बढेको छ भने तीन हजार पाँच सय मिटर तलको क्षेत्रमा भने लगातार वर्षा भइरहेको छ ।
यसले गर्दा बालीनाली भित्रयाउन किसानलाई समस्या भइरहेको छ । बिहानैबाट बर्षा भएको कारण हवाई सेवासमेत अवरुद्ध भएको छ ।
यसवर्ष जिल्लाका उच्च स्थानमा परेको हिमपात यो दोस्रो हो । यसअघि पनि चार दिन अगाडी उच्च क्षेत्रमा हिमपात भएको थियो ।