
हुम्ला- हिल्साको यारी नाका भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि वार्षिक लक्ष्य नतोकिए पनि नौ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। उक्त राजस्व मुख्यगरी चीनबाट आयात गरिएका सामानबाट असुल भएको हो।
भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार, भन्सार विभागले यस आर्थिक वर्षमा यारी नाका भन्सार कार्यालयलाई कुनै लक्ष्य नदिए पनि हालसम्म नौ लाख तीस हजार रुपैयाँ राजस्व संकलन भइसकेको छ।
गत आर्थिक वर्षको तुलनामा यो उपलब्धि उल्लेखनीय छ। गत वर्ष विभागले पाँच लाख रुपैयाँको न्यून लक्ष्य तोकेकोमा भन्सार कार्यालयले त्यसको तेब्बर अर्थात् पन्ध्र लाख रुपैयाँ राजस्व असुली गरेको थियो।
यस वर्ष लक्ष्य नतोकिँदा पनि राजस्व संकलन भइरहेको र हिउँ नपरेसम्म अर्थात् मङ्सिर महिनासम्म चीनको ताक्लाकोटबाट सामान आयात जारी रहनेछ।
यद्यपि, प्रमुख जैसीले यस वर्ष खासै धेरै सामान आयात नभएको बताएका छन्। उनले हुम्ला जिल्लाका सबै गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रूपमा जोडिएकाले विकास निर्माणका सामान कम आयात भएको जानकारी दिए।
अहिले ताक्लाकोटबाट दैनिक उपभोग्य वस्तु र लत्ताकपडा बढी मात्रामा आयात भइरहेको छ।