
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ।
अघिल्ला चार खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेका थिए। सिरिजको निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। उसका लागि कप्तान विनाफ्रेड दुरासिंगमले ४० रन, महिरा इस्माइलले १९ रन र एइना हमिजा हसिमले १५ रन योगदान गरे। बलिङतर्फ नेपालका राजमती ऐरी र कविता कुँवरले समान ३–३ विकेट लिए।
१ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। नेपालको जितमा रुबि पोदारले २६ रन, पूजा महतोले २३ रन र रुबिना क्षेत्रीले १५ रन योगदान गरे।