
- राष्ट्रिय मानव अधिकार आयोगले शान्ति–सुरक्षालाई सबल बनाउन कानूनी शासन र सामाजिक सद्भावमा आधारित समाधान खोज्न आग्रह गरेको छ।
- आयोगले नागरिकको सुरक्षा सुनिश्चित गर्दै मानव अधिकार उल्लंघन रोक्न सम्बद्ध पक्षलाई गम्भीर चासो व्यक्त गरेको छ।
- हिंसात्मक गतिविधि रोक्न सबै पक्षलाई संयमित रहन र आवश्यक कानूनी कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।
काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले पछिल्ला राजनीतिक घटना, प्रदर्शन तथा हिंसात्मक गतिविधि देखिएको पृष्ठभूमिमा शान्ति–सुरक्षाको व्यवस्थालाई सबल बनाउन आग्रह गरेको छ।
आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै मानव अधिकारको संरक्षण गर्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराएको हो।
गत भदौ २३ र २४ गते(जेनजी आन्दोनका बेला) भएको हिंसात्मक गतिविधिबाट मानव अधिकार उल्लंघनका घटनाहरू देखिएको आयोगले उल्लेख गरेको छ। यस घटनामा मानव अधिकार प्रतिकूल असर पर्ने, सामाजिक सम्पत्ति नष्ट हुने र कानूनको शासन कमजोर बन्ने खतरा रहेको भन्दै आयोगले गम्भीर चासो व्यक्त गरेको छ।
आयोगले हिंसात्मक गतिविधि, अवरोध, तोडफोड, नकारात्मक टिप्पणी र उत्तेजनाले सामाजिक सद्भाव बिग्रने चेतावनी दिंदै सबै पक्षलाई संयमित रहन र राजनीतिक प्रतिवद्धता देखाउन आग्रह गरेको छ।
शान्ति–सुरक्षालाई सबल बनाउन कानूनी शासन, सामाजिक सद्भाव र नागरिक आस्थामा आधारित स्थायी राजनीतिक समाधान खोज्नु आवश्यक भएको आयोगले बताएको छ। साथै, सरकारले आवश्यक कदम चाल्नुपर्ने र सम्बद्ध निकायले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने आयोगको भनाइ छ।
आयोगले नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालासँग मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा सहकार्य गर्न पनि अपिल गरेको छ।