
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाई प्रदान गरिएको छ।
जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रोबसन र अमेरिकाका उमर एम. याघीलाई प्रदान गर्ने निर्णय गरिएको हो।
स्विडेनको ‘रोयल स्विडिश एकेडेमी अफ साइन्सेस’ले बुधबार रसायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरेको हो।
यी वैज्ञानिकहरूले त्यस्ता एटम संरचनाहरू विकास गरेका छन् जसमा ठूला-ठूला खाली भागहरू हुन्छन्। ती खाली भागहरूबाट ग्यास र अन्य रासायनिक पदार्थहरू सजिलै पार हुन सक्छन्। यी संरचनाहरूलाई ‘मेटल–अर्गानिक फ्रेमवर्क्स’ (एमओएफ) भनिन्छ। यसमा बन्ने क्रिस्टलहरूमा ठूलो मात्रामा खाली ठाउँ हुन्छ।
यी संरचनाहरूलाई विशेष उद्देश्यअनुसार डिजाइन गर्न सकिन्छ ताकि तिनीहरूले कुनै पदार्थलाई समात्न (क्याप्चर) वा भण्डारण गर्न (स्टोर) सकून्। यसको प्रयोग मरुभूमिको हावाबाट पानी सङ्कलन गर्न, प्रदूषण हटाउन, कार्बन डाइअक्साइड सफा गर्न, विषालु ग्यासहरू भण्डारण गर्न सरल र सहज हुन्छ।
विजेताहरूलाई ११ मिलियन स्विडिश क्रोना स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। यो पुरस्कार राशी ती तीन वैज्ञानिकबीच बाँडिने छ। पुरस्कार वितरण आगामी १० डिसेम्बरमा स्टकहोममा हुनेछ ।