
- नेपाल र जापानको खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजे ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सुरु हुँदैछ।
- विजेता टोलीले सुपर सिक्स चरणमा २ अङ्कसहित स्थान सुरक्षित गर्दै विश्वकपको यात्रा सुनिश्चित गर्नेछ।
- नेपालको टोलीमा रोहित कुमार पौडेल नेतृत्वमा अन्य १४ खेलाडीको सहभागिता छ।
ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा आज नेपाल र जापान आमनेसामने हुने भएका छन्। दुवै टिमले सुपर सिक्समा प्रवेश पाइसकेकाले आजको खेलको विजेताले २ अङ्कसहित सुपर सिक्समा स्थान सुनिश्चित गर्नेछ।
खेल नेपाली समयअनुसार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेबाट सुरु हुँदैछ। नेपाल र जापानले आ-आफ्नो पहिलो खेल जितिसकेकाले दुवै टिम सुपर सिक्समा अग्रस्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिरहेका छन्।
यो खेल अघोषित रूपमा ‘सुपर सिक्स’को खेल जस्तै रहेको छ। विजेता टोलीले सुपर सिक्स चरणमा २ अङ्कसहित आफ्नो अभियान सुरु गर्नेछ। सुपर सिक्समा शीर्ष तीनमा स्थान बनाउने टोलीले आईसीसी टी-२० विश्वकपमा सहभागिता सुनिश्चित गर्ने भएकाले समूह चरणको २ अङ्कको सुरुवात टिमका लागि महत्वपूर्ण हुनेछ।
नेपाल र जापानबीचको यो पहिलो प्रत्यक्ष भिडन्त हुनेछ। उदीयमान क्रिकेट राष्ट्रको रूपमा रहेको जापानले इतिहासमा पहिलो पटक विश्वकप खेल्ने लक्ष्य राखेको छ भने नेपाल लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकप खेल्ने तयारीमा छ।
त्यसैगरी, अन्य समूहबाट सुपर सिक्समा प्रवेश गर्ने टिमको निर्णय पनि आजकै खेलबाट सुनिश्चित हुने छ। यूएई र मलेसियाबीचको खेलमा यूएई विजयी भएमा उसँगै कतार सुपर सिक्समा प्रवेश गर्नेछ भने ओमान र पीएनजीबीचको खेलपछि समूह ‘सी’ बाट सुपर सिक्स खेल्ने टिमको पनि टुंगो लाग्ने छ।
नेपालको टोली:
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी।