
काठमाडौँ – जेन–जी आन्दोलन भएको एक महिना पूरा भएको छ। गत भदौ २३ र २४ गते देशभर जेन–जी आन्दोलन भएको थियो।
आन्दोलनका क्रममा भदौ २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालयहरु, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा आगजनी भएको थियो।
त्यसको एक महिनापछि पनि ती सबै भवनहरु खण्डहर देखिएका छन्। कुनै भवन सरसफाइ र रंगरोगन गरी चलाउन थालिएको छ भने कुनै भत्काउनुपर्ने अवस्थामा पुगेका छन्।
संसद् भवनमा कुनै काम भएको छैन। यो भवन प्रयोगयोग्य नभएको बताइएको छ। त्यहाँ जलाइएका सयौं सवारीसाधन थुपारिएको छ।
कतिपय भवन हरियो जालीले ढाकिएको छ। नक्सालस्थित भाटभटेनी पूर्ण रुपमा भत्केको छ। नक्सालकै पाँचतारे हिल्टन होटल हरियो जालीले छोपिएको छ। त्यहाँ कामदारहरु सरसफाइको काम गरिरहेका छन्।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी