
काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्र कुबेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेर आफूले नभनेको प्रष्टीकरण दिएका छन्।
शुक्रबार उनको सचिवालयले विज्ञिप्ति जारी गर्दै आइजिपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न बाध्य बनाइए राजीनामा दिन्छु भनेर नभनेको प्रष्टीकरण दिएको हो।
‘केही दिनयता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रशारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ महानिरीक्षकको सचिवालयले भनेको छ,
‘प्रहरी महानिरीक्षकज्यूले कहीँकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ।’
गत सोमबार राति गृह मन्त्रालय र बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले ओली र लेखकलाई पक्राउ गर्न भनेपछि आइजिपी खापुङले दबाब दिए राजीनामा दिने बताएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए।