
- एमालेको संस्थापन पक्षले नेतृत्वमाथि उठेको प्रश्नको समाधान महाधिवेशनमा खोज्ने योजना अघि सारेको छ।
- ओलीको नेतृत्वका क्रममा देशमा भएका घटना र आन्दोलनलाई लिएर सचिवालयमा नेताहरुले गम्भीर छलफल गरे।
- उपमहासचिव प्रदिप ज्ञवालीले महाधिवेशनबाट पार्टीभित्र उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने कुरा बताएका छन्।
काठमाडौँ – एमालेको संस्थापन पक्षले नेतृत्वमाथि उठेको प्रश्नलाई महाधिवेशन देखाएर टार्ने रणनीति अघि सारेको छ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न शुक्रबार बसेको सचिवालय बैठकमा गरम भएपछि अध्यक्ष केपी ओली र उनीनिकट नेताहरुले महाधिवेशन देखाएर पन्छिने रणनीति लिएका हुन्।
ओलीको नेतृत्वमा सरकार रहँदा जेनजी आन्दोलनका कारण देश ध्वस्त भएको र ७५ जनाको मृत्यु भएको विषयमा सचिवालयमा नेताहरुले नेतृत्वमाथि प्रश्न उठाएपछि त्यसलाई टार्ने उपायको खोजीमा संस्थापन पक्ष लागेको हो।
शुक्रबारको बैठकपछि उपमहासचिव प्रदिप ज्ञवालीले भने, ‘पार्टी र नेतृत्वबारे उठेका सबै प्रश्नको जवाफ महाधिवेशनबाट खोज्नुपर्छ। छिट्टै महाधिवेशनमा जानुपर्छ। महाधिवेशनको बारेमा भोलि एउटा तयारी आउँछ।’ ज्ञवालीले अध्यक्ष ओलीले जे गरे पनि नाङ्गो भएर समर्थन गर्ने छवि बनाएका छन्।
ओलीको नेतृत्व क्षमता र उनी प्रधानमन्त्री हुँदा देश नै तहस नहस भएकाको अवस्थामा सचिवालयमा नेताहरुले गम्भीर ढंगले समीक्षा गरे मात्रै पार्टीलाई अघि बढाउन सकिने धारणा राखेका छन्। बैठकमा ओलीको चालोचना भएको कुरालाई घुमाउरो रुपमा स्वीकार गर्दैै ज्ञवालीले भने, ‘छलफलका क्रममा विभिन्न आलका विचार आउनु स्वभाविक हो। निर्णयका बेला एउटै विचार आउँछ।’
उनले चुनावका लागि सुशीला कार्की नेतृत्वको सरकारले अनुकुल वातावरण नबनाएको आरोप लगाए। ‘सरकारले छलफल गरेन। चुनावको बाटोतिर गएन अर्कै बाटोमा गयो, ज्ञवालीले भने, ‘एमालेलाई चिन्ता छ, तोकिएको समयमा चुनाव नहुने, चुनाव भए पनि चुनाव जस्तो नहुने। निर्वाचन भनेको निर्भयता पूर्वक हुनुपर्छ। सरकार त्यतातिर लागेको छैन।’
एमाले सचिवालय बैठकले शनिबार पनि निरन्तरता पाउनेछ।