
- यस बैठकले आगामी असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डालाई अन्तिम रूप दिनेछ।
- धारणा राख्ने नेताहरूले केन्द्रीय समिति बैठकका लागि महाधिवेशन, निर्वाचन र जेन-जी आन्दोलनलाई एजेन्डा बनाउन सुझाव दिएका छन्।
- अधिकांश नेताहरूले कार्यसमितिको म्याद थप नगरी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्।
काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज (शनिबार) पनि बस्ने भएको छ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने यस बैठकले आगामी असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डालाई अन्तिम रूप दिनेछ।
सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बिहीबार र शुक्रबार बसेको बैठकमा मुख्य गरी तीनवटा एजेन्डामा छलफल भएको थियो।
बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेको थियो भने शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो।
अहिलेसम्म धारणा राख्ने नेताहरूले केन्द्रीय समिति बैठकका लागि निम्न तीन विषयलाई एजेन्डा बनाउन सुझाव दिएका छन्:
पार्टी अधिवेशन: शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल मंसिरमा सकिँदैछ। अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप नगरी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्।
सरकारले घोषणा गरेको निर्वाचन: सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेन्डा बन्नेछ।
जेन-जी आन्दोलनको जड: गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको मूल कारण के हो भन्ने विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने लगभग निश्चित भएको छ।
पार्टीमा अहिले नियमित र विशेष महाधिवेशनको विषयमा बहस भइरहेको सन्दर्भमा आजको बैठकले केन्द्रीय समितिका एजेन्डाहरूलाई औपचारिक टुंगो लगाएर सार्वजनिक गर्नेछ।