
- ‘जेनजी’ आन्दोलनका कारण भौतिक संरचनाका लागि हालसम्म रु २३ अर्ब २२ करोड बीमा दाबी भएको छ।
- बीमा कम्पनीहरूले सक्रियताका कारण हालसम्म रु एक अर्ब ५८ करोड अग्रिम भुक्तानी गरेका छन्।
- सर्वाधिक बीमा दाबी सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब ६१ करोड रहेको छ, जसले रु ५९ करोड भुक्तानी गरिसकेको छ।
काठमाडौँ- गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् ।
बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ । हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
कुल दाबीमध्ये सम्पत्ति बीमा छ सय ५३, मोटर बीमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन् ।
त्यसैगरी, कोशी प्रदेशमा तीन सय ९६, मधेसमा तीन सय ५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा दुई सय १२, लुम्बिनीमा दुई सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा एक सय ९९ बीमा दाबीको आवेदन परेको छ । प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो ।
प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी अर्थात् रु पाँच अर्ब ६१ करोड ४४ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले रु ५९ करोड ४४ लाखबराबरको रकम बीमितलाई भुक्तानी गरेको छ ।
त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा रु पाँच अर्ब २४ करोड ४७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले रु पाँच लाख ७० हजारबराबरको रकम भुक्तानी गरेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु दुई अर्ब ७५ करोड ९७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले रु ३० करोड ४३ लाखबराबरको रकम बीमितलाई वितरण गरेको छ । शिखर इन्स्योरेन्समा रु दुई अर्ब ४० करोड ८६ लाखबराबरको बीमा दाबी भएको छ । सो कम्पनीले रु ३१ करोड ९४ लाखबराबरको रकम उपलब्ध गराएको छ ।
मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बीमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ ।