
काठमाडौँ – आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले आजको टोलीमा पनि यसअघिको प्लेइङ ११ मा रहेको टोलीमा कुनै परिवर्तन गरेको छैन।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
केही समयपछि सुरु हुने खेलमा नेपाल र युएई दुवै टोलीले समूह चरणबाट समान २ अङ्क लिएर सुपर सिक्समा पुगेका हुन्। दुवै टोली सुपर सिक्समा पहिलो जित निकाल्दै विश्वकप छनोटमा बलियो बन्न चाहन्छन्।
समूह ‘बी’को विजेताका बनेको नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई हराएको थियो। त्यसअघि पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।
युएईले भने समूह ‘ए’ मा मलेसिया र कतारलाई हराएर समूह विजेता बनेको थियो। टी-२० अन्तर्राष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १० खेल भएका छन्। जसमा दुवै टोलीले समान पाँच खेल आफ्नो पक्षमा पारेका छन्।