
- इजरायली सेनाले हमासद्वारा कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको औपचारिक रूपमा जानकारी दिएको छ।
- भिडियो कन्फरेन्समा विपिनको नाम जीवितको सूचीमा नभएको बताइएको र शवबारे पछि जानकारी दिने जनाइएको छ।
- विपिनलाई गाजाको अस्पतालमा जीवित देखिएको रिपोर्ट आएको थियो, तर इजरायली सेनाले अहिले उनलाई मृत भनेको छ।
काठमाडौँ- इजरायलमा हमासद्वारा नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा जानकारी दिएको छ।
आईडीएफका एक अधिकारीलाई उदृत गर्दै इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सो कुराको जानकारी दिएका हुन्। उनका अनुसार विपिनको नाम जिवितको सूचीमा छैन। शवबारे अहिल्यै भन्ने नसकिने पछि जानकारी दिने जनाइएको छ।
राजदूत पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूबीच भएको भिडियो कन्फरेन्समार्फत सो कुराको जानकारी दिइएको राजदूत पण्डितले बताएका छन्।
अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरू रिहा गर्ने कार्यक्रम तय गरिएको थियो। तर, आज सार्वजनिक गरिएको २० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश थिएन।
कञ्चनपुरका विपिन जोशी अध्ययनका सिलसिलामा इजरायल पुगेका थिए। उनी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
सन् २०२३ नोभेम्बर १७ मा विपिनलाई गाजाको अल–शिफा अस्पतालमा जीवित देखिएको रिपोर्ट सार्वजनिक भएको थियो। त्यसपछि उनको अवस्थाबारे कुनै ठोस जानकारी आएको थिएन।
गत बुधबार मात्र विपिनको एउटा पुरानो भिडियो सार्वजनिक भएको थियो, जसले आशा पलाएको थियो। तर आज इजरायली सेनाले विपिन जीवित नरहेको पुष्टि गरेपछि परिवार र समग्र नेपाली समुदाय शोकमा डुबेका छन्।
विपिनको अवस्थाबारे जानकारी पाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल पुगेका थिए।