
काठमाडौँ – दसैँ सकिसकेको छ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहार नजिकिएसँगै यतिबेला भक्तपुरको तालाक्वका स्थानीयहरू माटोका पाला बनाउन व्यस्त देखिन्छन्।
अन्य दिनको तुलनामा तिहारको समयमा माटोको दियो, पालाको माग धेरै हुने हुँदा उनीहरू व्यस्त देखिएका हुन्।
दीपावलीका लागि तिहारमा हरेक घरघरमा दियो बालिने हुँदा पनि माटोको पालाको माग अन्य समयमा भन्दा तिहारमा बढी हुने स्थानीय विनोदकुमार प्रजापतिले जानकारी दिए।
बजारमा हिजोआज विभिन्न इलेक्ट्रनिक बत्तिहरूको बिक्री वितरण बढ्दै गए पनि माटोको पालाको माग पनि उस्तै रहेको उनले जानकारी दिए।
काठमाडौँ, ललितपुरलगायत विभिन्न स्थानबाट तिहारमा पालाको माग हुने र सोहीअनुसार पाला बनाउने गरेको उनको भनाइ छ। होलसेल मूल्य प्रतिगोटा दुई रुपैयाँ, साढे दुई रुपैयाँ र गुणस्तर अनुसार पालाको मूल्य फरक फरक हुने गरेको उनले जानकारी दिए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।