
- भदौ २३ र २४ को आन्दोलनपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषय पेचिलो ढंगले उठिरहेको छ।
- सभापति देउवाको स्वास्थ्यमा सुधार आएको र अब सभापति बन्न नरहने संकेत देउवा निकट नेताहरूले दिएका छन्।
- मंगलबार सुरु हुने कांग्रेस केन्द्रीय बैठकले कार्यवाहक सभापति चयनले पार्टीको भविष्यको धार स्पष्ट गर्ने अपेक्षा छ।
काठमाडौँ– भदौ २३ र २४ को आन्दोलनपछि कांग्रेसमा पनि नेतृत्व हस्तान्त्ररणको विषय पेचिलो ढंगले उठिरहेको छ।
कांग्रेसको नियमित चार वर्षे महाधिवेशन आउँदो मंसिरमा हुनुपर्ने भए पनि कात्तिक लाग्ने बेलासम्म त्यसको कुनै छाँटकाट छैन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा मंसिरमै नियमित महाधिवेशन नत्र विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर अभियान चलिरहेको छ।
जेनजी आन्दोलनपछि पहिलोपटक मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। उक्त बैठकमा महामन्त्रीद्वयले महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर बुझाउने तयारी गरेका छन्। सम्भवत सोमबार नै हस्ताक्षर केन्द्रीय पार्टी कार्यालयमा दर्ता हुने थापा-शर्मा पक्षको दाबी छ। तर, संस्थापन पक्ष भने नियमित महाधिवेशन नै वैशाखअघि सम्भव नभएको बताइरहेको छ।
जेनजी आन्दोलनको तारो बनेका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार आएको छ। आन्दोलनकारीको निशानामा परेका देउवा गम्भीर घाइते भएका थिए। उनको टाउकोमा मात्रै १२ वटा टाँका लगाइएको थियो भने घाँटीमा गहिरो चोट लागेको थियो।
उमेर र स्वास्थ्यका हिसाबले पनि अब सभापति देउवा सक्रिय राजनीतिमा लामो समय नरहने उनीनिकट नेताहरुकै भनाइ छ। अझ कांग्रेसको विधानले तेस्रो कार्यकाल सभापित हुन रोक्ने भएकाले देउवा महाधिवेशन गराएर सम्मानजनक रुपमा राजनीतिबाट बिदा लिने तयारीमा छन्। तर त्यसअघि नै उनले कार्यवाहक दिएर पार्टी सञ्चालनको जिम्मेवारी दोस्रा तहका नेताहरुलाई सुम्पने तयारी गरेका छन्।
कार्यवाहक सभापतिका रुपमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलाको सम्भावना रहेको नेताहरु बताउँछन्। वरियतामा पहिलो नम्बरमा रहेका खड्का नै कार्यवाहक सभापति बन्ने सम्भावना बलियो रहेको देउवानिकट नेताहरूको दाबी छ। यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको थियो। उनी लामो समयदेखि कांग्रेसमा देउवा ‘गुट’मा रहँदै आएका छन्।
देउवा आफैँ उम्मेदवार नहुने अवस्थामा संस्थापन पक्षबाट भावी नेतृत्वका लागि उपसभापति खड्काको नाम स्वभाविक रुपमा अगाडि आउन सक्छ। खड्का बिपीको मेलमिलाप नीतिसँगै सन्त नेता कृष्णप्रसाद भट्टराईका अनुन्यायी समेत हुन्। नेपाली सेनासँगको राम्रो सम्बन्ध, शंकर भण्डारीले अगुवाइ गरिरहेको राजसंस्था पुनःस्थापना पक्षधर समूहप्रति ‘सफ्ट कर्नर’ जस्ता कारण खड्काले कार्यवाहक पाउने आधार हुन्।
तरऽ खड्काको पछिल्ला दिनको गतिविधि सन्तोषजनक नरहेको देउवा पक्षको गुनासो छ। सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान सुरु गर्न थापा-शर्मालाई खड्काले उक्साएको आरोप छ। एक नेताले भने, ‘सभापतिविरुद्ध हस्ताक्षर अभियान हुँदा त्यसलाई रोक्न उहाँले कुनै भूमिका खेलेको देखिएन। बरु अघि बढ्न भूमिका खेलेको अनुभुति भएको छ।’
अर्कोतर्फ १३औँ महाधिवेनमा देउवासँगै प्रतिस्पर्धा गरेर पराजित भएका सिटौला १४औँ महाधिवेशनपछि देउवासँगै छन्। देउवाको मन जितेरै राष्ट्रियसभा सदस्य हुन सफल भए उनी। राजनीतिलाई छिटो बुझ्ने चतुर खेलाडीको छवि बनाएका सिटौला माओवादी आन्दोलनको ल्याण्डिङसँगै राजनीतिको मूलधारमा आइपुगेका हुन्।
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रका रुपमा माओवादी एजेण्डामा कांग्रेसलाई हिँडाएको आरोप उनीमाथि छ। नेपालमा राजतन्त्र विस्थापित गर्न र सेनालाई थप ह्युमिलेट गर्न भूमिका खेलेका कारण उनीसँग केही संस्था रुष्ट छन्।
कांग्रेसको पछिल्लो गतिविधिमा सिटौलाले देउवालाई काँध थापेका छन्। उनले अहिलेको अवस्थामा सभापतिलाई हटाउन नहुने र हस्ताक्षर अभियान ठीक नभएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन्।
कार्यबाहक सभापतिबाट अर्को सम्भावित नाम शेखर कोइरालाले आफूले देउवासँग यसको माग नगरेको सार्वजनिक रूपमा नै बताइसकेका छन्। यद्यपि कोइराला खेमाबाट शेखर वा सशांक दुवै कांग्रेसको नेतृत्व गर्न सक्षम रहेको उनीहरू निकट रहेका नेताहरू बताउने गर्छन्।
मंगलबार सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकले कार्यबाहक सभापतिसँगै महाधिवेशनका विषयहरू टुंग्याउने अपेक्षा छ। खड्का, सिटौला र शेखर/सशांकमध्ये कसले कार्यबाहक पाउँछ भन्ने निश्चित हुनुले बदलिँदो परिस्थितिमा कांग्रेसले लिने धारसमेत स्पष्ट हुने विश्लेषकहरू बताउँछन्। कार्यबाहक सभापतिमा खड्काको चयनले कांग्रेस राजसंस्था पुनर्स्थापनालगायत हिन्दु राष्ट्रका मागप्रति लचिलो रहेको संकेत मिल्ने तथा सिटौलाको चयनले १२ बुँदेकै निरन्तरता कांग्रेसको आगामी धार बन्ने पार्टीका भित्रियाहरू बताउँछन्।