
यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती अर्थशास्त्रीलाई दिइने भएको छ।
अमेरिकी अर्थशास्त्री जोएल मोकिर, पिटर हाउइट र बेलायतका फिलिप एगियनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
नोबेल समितिका अनुसार यी अर्थशास्त्रीहरूले नवप्रवर्तनले कसरी आर्थिक विकासको बाटो खोल्छ भन्ने विषयमा गहिरो अध्ययन गरेका छन्। प्रविधि तीव्र गतिमा परिवर्तन हुँदै जान्छ र यसले हाम्रा जीवनका हरेक पक्षमा कसरी प्रभाव पार्दछ भनेर उनीहरुले अध्ययन गरेका थिए।
‘नयाँ उत्पादन र उत्पादनका तरिकाहरूले पुराना विधिहरूलाई निरन्तर प्रतिस्थापन गर्दै लैजान्छन्, र यो प्रक्रिया कहिल्यै अन्त्य हुँदैन। यही निरन्तर परिवर्तन नै आर्थिक वृद्धिको आधार हो, जसले विश्वभरका मानिसहरूको जीवनस्तर, स्वास्थ्य र जीवनगुणस्तर सुधार गर्न मद्दत गर्दछ’ भन्ने कुराहरुमा उनीहरुले अध्ययन गरेका छन्।
विजेताहरूले ११ मिलियन स्विडिस क्रोना, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरस्कार वितरण समारोह डिसेम्बर १० मा स्टकहोममा हुनेछ।