
काठमाडौँ- बालरोग विशेषज्ञ डा. किशोर खत्रीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाउने सरकारले तयारी गरेको छ।
उनले नेपालमा बाल तथा नवजात शिशु स्वास्थ्य सेवाको क्षेत्रमा १८ वर्षभन्दा बढी समयदेखि काम गरेका छन्। उनले एमडी पेडियाट्रिक्स र बोस्टन विश्वविद्यालयबाट पोषणमा फेलोसिप गरेका हुन्।
उनले रोलपा, रुकुम, सल्यान, प्यूठान, अर्घाखाँची, जाजरकोट जस्ता दुर्गम क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेका छन्।
साथै, उनले राप्ती अञ्चल अस्पतालमा नवजात शिशु मृत्युदर घटाउने कार्यमा पनि ध्यान केन्द्रित गरेका थिए।
कोभिड-१९ महामारीको समयमा उत्कृष्ट सेवाका लागि उनलाई सामाजिक सेवा पदकबाट सम्मान गरिएको थियो।
ग्रामीण क्षेत्रमा सेवाका लागि प्रोत्साहन, पारदर्शी र योग्यतामा आधारित भर्ती प्रणालीमार्फत स्वास्थ्यकर्मीलाई सशक्त बनाउनु पर्ने कुरामा उनले जोड दिँदै आएका छन्।
विश्वव्यापी स्वास्थ्य कभरेज र दुर्गम समुदायहरूका लागि मोबाइल क्लिनिक र टेलिमेडिसिन विस्तार गर्ने उनले योजना बनाएका जानकारहरू बताउँछन्।
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागू गर्दै, पारदर्शिता र जवाफदेहीतामा आधारित प्रणाली निर्माण गर्ने उनले योजना बनाएको बताइएको छ।