
झापा- झापाको दमकमा पाथिभरा गेष्ट हाउसमा काम गर्ने एक महिला मृत फेला परेकी छिन्।
धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी ३६ वर्षीया सम्झना परियार दमक वडा न. ६ मा रूपादेवी कडरियाले सञ्चालन गरेको पाथिभरा गेष्ट हाउसमा कार्यरत थिइन्।
मङ्गलबार दिउँसो १२:३० बजे उनी गेष्ट हाउसको दोस्रो तलामा रहेको आफ्नो कोठामा मृत भेटिएकी हुन्।
परियार अघिल्लो रात खाना खाएर सधैं सुत्ने कोठामा सुतेकी थिइन्। दिउँसोसम्म पनि नउठेपछि सोही गेष्ट हाउसमा बसेकी दुर्गा बर्देवा बोलाउन जाँदा उनी घोप्टो परेको अवस्थामा भेटिइन् र बोलिनन्।
घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले परियारको मृत्यु भइसकेको पुष्टि गरेको थियो।
प्रहरीका अनुसार परियारले मादक पदार्थ सेवन गरेको जस्तो देखिएको छ, तर उनको शरीरमा कुनै किसिमको चोटपटक वा निलडाम देखिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।